रुसले कब्जा परेको युक्रेनी क्षेत्रमा सेप्टेम्बर १ मा बालबालिकाहरू विद्यालय फर्कँदा इतिहासका पाठ निकै भिन्न तरिकाले पढाइने छ । बीबीसीका अनुसार युक्रेनी शिक्षकहरूलाई रुसी पाठ्यक्रम अन्तर्गत रहेर पढाउन दबाव दिइएको छ । जसको अर्थ क्रेमलिनको दृष्टिबाट संसारको अध्ययन गर्नु हो ।
युक्रेनको दक्षिणमा पर्ने रुस अधीनस्थ क्षेत्रमा विद्यालय सहितका प्रशासनिक र शैक्षिक भवनहरूमा रुसी झन्डा राखिएका छन् । रुस नियन्त्रित मारीऊपोलमा इर्यानाकी १३ वर्षीय सन्तान कक्षा आठ सुरु गर्ने तयारीमा रहँदा उनी चिन्तित बनेकी छन् ।
रुसी पाठ्यक्रमबारे आफूलाई साँच्चिकै चिन्तित पार्ने कुरा भनेको इतिहासबारे भएको उनले बताइन् । पाठहरू युक्रेनी भाषामा नभई रुसी भाषामा हुने कुराप्रति उनीहरुले आपत्ति जनाएका छन् । अधीनस्थ भागमा युक्रेनी इतिहासलाई मेटाउने प्रयासबारे रुस पक्षधर सामाजिक सञ्जालमा सगर्व चर्चा गरिएको छ ।
रुसी फौजले पुस्तकालयहरूबाट युक्रेनी इतिहासका पुस्तकहरू हटाइरहेका दृश्य बारम्बार देख्ने गरिन्छ । रुसको पुनर्जागरण मन्त्रालय भनिने निकायले अधीनस्थ युक्रेनी क्षेत्रमा रुसी पाठ्यपुस्तक उपलब्ध गराउने वाचा गरेको छ ।
बीबीसीले उक्त मन्त्रालयले स्वीकृत गरेका विद्यालयका मुख्य पाठ्यक्रमहरू र तिनका युद्धअघि सन् २०१६ मा प्रकाशित र २०२२ संस्करणहरूको समीक्षा गरेको छ । तिनमा युक्रेन र किएभका धेरै सन्दर्भहरू हटाइएका छन् ।
मध्यकालीन पूर्वी युरोपेली राज्य ’क्याभिन रस’ र उसको राजधानी किएभलाई विस्थापित गर्दै रस वा सीर्फ ’पुरानो रस’ लेखिएको छ । ती किताबहरूले गलत कुराहरू राखेका छन् ।
जसमा सन् २०१४ मा रुसले क्राइमियालाई गाभ्ने समयको व्याख्या गर्ने क्रममा पश्चिमा सहयोगमा किएभमा कट्टर राष्ट्रवादीहरू शक्तिमा आएपछि मानिसहरू आफ्ना अधिकार बचाउन प्रदर्शन गरेको लेखिएको छ। त्यसैगरी पाठ्यपुस्तकका पछिल्ला संस्करणमा भ्लादिमिर पुटिनसँगका सन्दर्भ र उनका उपलब्धिहरू थपिएको छ।