
काठमाडौं । निर्वाचन आयोगले संसदको कार्यकाल संशोधन गर्न संसदमा विधेयक पेस भएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगले सोमबार विज्ञप्ति जारी गरी निर्वाचन ऐन २०७४ मा हाल कायम रहेको प्रतिनिधिसभा तथा प्रदेश सभाको कार्यकालको सम्बन्धमा व्यवस्था गरी संघीय संसदमा विधेयक पेश भएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ’प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको कार्यकाल कहिलेदेखि प्रारम्भ हुन्छ भन्ने सम्मबन्धमा स्पष्ट नभएको र प्रत्येक सदस्यको निर्वाचित मितिलाई आधार मानी गणना गर्दा फरक फरक मितिमा निर्वाचित भएको मान्नुपर्ने अवस्था देखिएकाले पहिलो निर्वाचित मितिलाई आधार मानी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको पदावधिको अवधि गणना गर्नु व्यवहारिक नुहने देखिएकाले सोही आधारमा निर्वाचन आयोगले परामर्श दिइ नेपाल सरकारले मंसिर ४ मा निर्वाचन गर्न निर्वाचित मिति घोषणा गरेको हो। त्यसैले कानुन संशोधन गर्नु आवश्यक देखिदैन ।’
कानुन संशोधन गर्दा अन्यौलता उत्पन्न हुने भन्दै आयोगले निर्वाचनसम्बन्धी कानुन निर्माण तथा संशोधनको प्रक्रिया अघि नबढाउ आग्रह गरेको छ । संसदको म्याद निर्वाचनपछिसम्म कायम हुनेगरी संसदमा विधेयक पेस भएको छ। सो विधेयक फास्ट ट्रयाकबाट पास गर्ने तयारी छ।