
काठमाडौं । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०९औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो ।
जहानियाँ राणा शासनको विरोधमा उहाँका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो । भारत निर्वासनकै क्रममा जहानियाँ राणा शासनको अन्त गर्न विसं २००३ मा बिपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भयो ।
प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्ण शम्शेरको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसकाबीच एकता भएपछि २००७ सालको क्रान्ति सफल भयो । दुवै दल एकीकृत भई बनेको नेपाली कांग्रेस अहिले पनि संसद्मा दोस्रो ठूलो दलका रुपमा लोकतान्त्रिक प्रगतिशील गठबन्धनका तर्फबाट सरकारको नेतृत्व गरिरहेको छ ।
क्रान्तिको सफलतापछि मोहन शम्शेरको नेतृत्वमा बनेको राणा–कांग्रेस सरकारमा बिपी गृहमन्त्री बने । विसं २०१५ को आमनिर्वाचनमा कांग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गरे ।
प्रधानमन्त्रीत्व कालमा उनले विर्ता उन्मूलन गरी ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम लागू गराए । विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिका भरमा जननिर्वाचित सरकार अपदस्थ गरिएपछि कोइरालालगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइएको थियो ।
एक महिनापछि सेनाको सुन्दरीजल आर्सनलका प्रमुखको सरकारी निवासलाई वरिपरि पर्खालले घेरेर नेता कोइराला लगायतलाई जेल हालियो । २०२५ मा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त भएका कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताए ।
भारतमा निर्वासित भएर प्रजातन्त्र पुनःस्थापनाका पक्षमा सङ्घर्ष गर्दा राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आठ वटा ज्यान मुद्दाको पर्वाह नगरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ उनी स्वदेश फर्किए । उनले अपनाएको मेलमिलापको नीति आज पनि मुलुकको राजनीतिमा उत्तिकै सान्दर्भिक छ ।