काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष लि चानशु नेतृत्वको प्रतिनिधि मण्डलसँग भेटवार्ता गरेका छन् ।
मंगलबार बिहान नयाँबानेश्वरस्थित संसद भवनमा भेटवार्ता गर्दै अध्यक्ष प्रचण्डले विकास र समृद्धिका लागि रणनैतिक विकास साझेदारी मार्फत नेपालका प्राथमिकताका क्षेत्रका ठूला परियोजनामा आवश्यक लगानी भित्राउन निम्ति चिनियाँ पक्षसँग आग्रह गरे ।
अध्यक्ष प्रचण्डले बीआरआई लगायतका परियोजनामार्फत भइरहेका आयोजनाहरुको शीघ्र कार्यान्वयनको वातावरण बनाउनुपर्ने कुरामा पनि जोड दिए ।
भेटका अवसरमा प्रचण्डले नेपालमा दशैं, तिहार लगायतका चाडपर्व सुरु भएकाले तातोपानी, रसुवागढी सहितका नाकाहरु तत्काल खोल्न आग्रह गरे । उनले नेपाल र चीनबीच बढ्दै गएको व्यापार असन्तुलनलाई सन्तुलनमा ल्याउन चीनले उदारतापूर्वक काम गर्नुपर्ने उल्लेख गरे ।