
काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत जारी पुरुष क्रिकेटमा आर्मी सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार दिउँसो भएको समूह चरणको अन्तिम खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १३ रनले पराजीत गर्दै आर्मी समूहको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो ।
जितको लागि १७८ रनको लक्ष्य पछ्याएको पुलिसले निर्धारित १९ ओभरमा ८ विकेट गुमाउँदै १६४ रन बनायो । वर्षाका कारण खेललाई १९ ओभरमा झारिएको थियो । पुलिसका लागि आरिफ शेख सर्वाधिक ४० रन बनाउँदा सुनिल धमलाले २७, दिलीप नाथले २३, कप्तान दीपेन्द्रसिंह ऐरीले २१, योगेन्द्रसिंह कार्कीले १४ र पवन सर्राफले १३ रनको योगदान गरे ।
आर्मीका लागि साहब आलम र सोमपाल कामीले दुई्/दुई लिँदा जितेन्द्र मुखिया र सुशन भारीले समान एक/एक विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्न उत्रिएको आर्मीले निर्धारित १९ ओभरमा ५ विकेट गुमाउँदै १७७ रन बनाएको थियो । आर्मीको लागि कप्तान विनोद भण्डारी र अर्जुन साउदले अर्धशतक प्रहार गरे । विनोदले २९ बलमा सात छक्का र दुई चौकासहित अविजित ६६ रन बनाए । यस्तै अर्जुनले ३४ बलमा सात चौका र दुई छक्काको सहयोगमा ५३ रन बनाउँदा भिम सार्कीले १५ तथा रोहितकुमार पौडेल र सोमपाल कामीले १४/१४ रन जोडे ।
पुलिसका लागि करण केसीले दुई तथा गुल्सन झा र ललितनारायण राजवंशीले एक/एक विकेट लिए । जीतसँगै ५ खेलबाट ८ अंक जोडेको आर्मी समूहको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुग्दा समान खेलबाट ६ अंक जोडेको पुलिस दोस्रो स्थानमा रहँदै अन्तिम ४ मा प्रवेश गरेको हो । अब भोलि हुने पहिलो सेमिफाइनलमा आर्मी र सुदूरपश्चिममा भिड्नेछन् ।