काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले पहिलो पटक आयोजना गर्न लागेको नेपाल टी २० लिग डिसेम्बरसम्मलाई स्थगित भएको छ ।
सेप्टेम्बर २४ तारिखबाट आयोजना हुनु पर्ने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेका बेला आसन्न मंसिर ४ गतेको चुनावको कारण देखाउँदै डिसेम्बरसम्मलाई स्थगित गरिएको छ । यसअघि असोज ८ गतेदेखि कार्तिक २३ गतेसम्म नेपाल टी २० लिग आयोजना गर्ने गरि तयारी अगाडि बढाइएको थियो ।
प्रतियोगिताका ६ टिम घोषणा भइसकेका छन् भने टी टिमले ड्राफ्टमार्फत खेलाडी पनि छनोट गरिसकेका छन् । टी २० लिगमा ३३ विदेशी खेलाडी आवद्ध भएका छन् । गृह मन्त्रालयले मंसिर चार गतेको चुनाव परेकाले प्रतियोगिता पर सार्न आग्रह गरेको थियो । गृहको आग्रहमा क्यानले डिसेम्बर ११ देखि ३१ तारिखसम्म नेपाल टी २० लिग आयोजना गर्ने अर्को मिति भने सार्वजनिक गरेको छ ।
पहिलो पटक आयोजना हुन लागेको प्रतियोगितामा देशका ६ शहरका नाममा टिम बनेका छन् । प्रतियोगितामा काठमाडौं गोर्खाज, पोखरा एभेन्जर्स, विराटनगर सुपर किंग्स, जनकपुर रोयल्स, लुम्बिनी अल स्टार्स र फार वेस्टन युनाइटेडले सहभागित जनाउने छन् । ६ टिमले आफ्ना मार्की खेलाडीसहित सबै सार्वजनिक गरेका छन् ।
विदेशी खेलाडीहरुको हकमा भने श्रमस्वीकृति लिन बाँकी रहेको छ भने उनीहरुको नेपालमा बैंक खाता खोल्न पनि बाँकी रहेको जनाइएको छ ।