
काठमाडौँ । नेपाल भ्रमणमा रहेका चीनको जनकंग्रेसका अध्यक्ष ली चान्सु र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । बुधबार अपरान्ह उनीहरुबीच राष्ट्रपति निवास शीतलनिवासमा भेटवार्ता भएको हो । भेटमा राष्ट्रपति भण्डारीले दुई देशबीच भएका सम्झौताहरुलाई कार्यान्वयनमा लैजान आग्रह गरेकी छन् ।
उनले दुई मुलुक बीच हालसालै भएका सम्झौताहरुलाई कार्यान्वयनमा लगे नेपालको विकासमा टेवा पुग्ने पनि बताइन् । त्यसक्रममा राष्ट्रपतिले नेपाल एक चीन नीतिमा अडिग रहेको उल्लेख गर्दै चीनले नेपाललाई दिँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभएको राष्ट्रपतिका प्रेसविज्ञ टीका ढकालले जानकारी दिए ।
भेटमा अध्यक्ष लीले नेपालतर्फका केरुङ र तातोपानी नाकाहरु तत्काल सञ्चालन हुने जानकारी दिएका थिए । ढकालका अनुसार अध्यक्ष लीले राष्ट्रपति भण्डारीसमक्ष आफूले नाकाहरु सञ्चालनका लागि उपप्रधानमन्त्री र यो क्षेत्रको क्षेत्रीय व्यापार हेर्ने अधिकारीसँग कुराकानी गरिसकेको जानकारी दिए ।
राष्ट्रपति भण्डारीले लीसँगको भेटमा नेपाल र चीनबीचको दुबै नाका सञ्चालन नहुँदा नेपाली व्यापारीहरुले समस्या भोगिरहेका भन्दै नाका संचालनका लागि आग्रह गरेकी थिइन् ।