काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले हालसम्म प्राप्त राजनीतिक उपलब्धि दलको सहमति र सहकार्यले नै सम्भव भएको बताएका छन् ।
प्रतिनिधिसभाको शनिबारको बैठकलाई सम्बोधन गर्दै उनले हालको राजनीतिक व्यवस्थाअनुसार मुलुकमा कुनै दलले एक्लै सरकार बनाउछु भन्ने अवस्था नरहेको बताए । “नेपालमा एकल बहुमत ल्याउँछु, एक्लै सरकार बनाउँछु भन्ने सोच्नु हुँदैन”, खनालले भने, “नेपालमा धेरै परिवर्तन पार्टी मिलेर नै भएका हुन्, संविधान जारी गर्दा होस् वा त्योभन्दा अगाडिका आन्दोलनमा होस् ।”
कृषिमा देशलाई आत्मनिर्भर बनाउँदै भूमिसुधारको काममा ध्यान दिनुपर्नेमा जोड दिँदै उनले भने, “नेपाली जनता सही नेतृत्व छान्न सक्ष्मा भइसकेका छन्, आउने सरकारले देशमा भूमिसुधार गर्न सकोस्, कृषिमा आत्मनिर्भर बनाउन सकोस् ।”
खनालले संविधान र सङ्घीयता कार्यान्वयन जस्तो महत्वपूर्ण उपलब्धि संसद्को यो कार्यकालमा भएको र यो अवधिमा धेरै कानुन बनाउनुलाई पनि उपलब्धिका रुपमा हेरिनुपर्नेमा जोड दिए ।
नेपालमा संविधान जारी भएपछि भएको निर्वाचनमा देशले ठूलो अपेक्षा राखिएको भए तापनि अपेक्षाअनुसार कृषि, शिक्षा, स्वास्थ्य, उद्योग रोजगारसम्बन्धी विकास हुन नसकेको उनले बताए ।
“देशमा राष्ट्रिय उद्योगधन्दा निर्माण गर्न सकिने थियो, देशमा ठूलोमात्रामा जङ्गल छ, छ हजार नदीनाला नै छन्”, उनले भने, “पानी उद्योग खोल्न सकिन्थ्यो, जडीबुटीजन्य उद्योग खोल्न सकिने थियो, पर्यटन उद्योगमा शृङ्खलाबद्ध तरिकाले काम सकिन्थ्यो तर हुन सकेन ।” देशमा १४ विश्वविद्यालय, धेरै कलेज र विद्यालय भए पनि राम्रो रोजगारीमूलक शिक्षा दिन नसकेको र शैक्षिक क्षेत्रमा अझ अराजकता बढेको बताए ।
वर्तमान सरकार पाँच दलको साझा धारणामा बनेको उल्लेख गर्दै उनले बहुदलीय व्यवस्थामा दल मिलेर आफ्नो एजेण्डासहित सरकारमा सहभागी हुने र सरकार ती दलको भावनाविपरीत जान नसक्ने बताए ।
विश्वका धेरै प्रजातान्त्रिक देशमा संसद् विघटन गर्नसक्ने व्यवस्था नभएको उल्लेख गर्दै उनले नेपालको संविधानले पनि अर्काे सरकार गठनको विकल्प रहँदा संसद् विघटन गर्ने अधिकार नदिएको स्पष्ट पारे । यस्तो अवस्थामा पनि संसद् विघटन हुनु दुर्भाग्य भएको उनको भनाइ थियो ।