
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग एक्लै भिड्न नसक्ने भएपछि पाँचदल गठबन्धन बनाएर निर्वाचनमा जान बाध्य भएको बताएका छन् ।
शुक्रबार राष्ट्रिय युवा संघ नेपालको प्रचार भेलालाई काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको लहर देखेर सत्तारुढ गठबन्धन थरर काम्ने गरेको बताएका हुन् । उनले सत्ता गठबन्धनलाई आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा एमालेले त्रिशुलीको भेलले बगाए जसरी बगाउने बताए ।
अध्यक्ष ओलीले अनेकथरी प्रतिक्रियावादी शक्तिहरू मिल्दा पनि एमालेलाई कमजोर बनाउन नसकेको दाबी गरे । उनले भने, ‘गर्मीमा पनि उनीहरू धेरै जाडोमा मानिसहरु काम्छ नि थरर त्यसरी कामेका छन्। त्यसैकारण उनीहरुले यो गठबन्धन बनाउनु परेको छ। गठबन्धनको यो त्यान्द्रो समातेनन् र छोडे भने यिनीहरू त्रिशुलीको भेलमा पुगेजस्तो हुन्छ । एमालेको भेलले बगाउँछ।’
अध्यक्ष ओलीले एमाले विभाजन भएर गएको नेकपा एकीकृत समाजवादीलाई तितेपातीसँग तुलना गरे । उनले मंसिर ४ पछि मात्र माधव नेपाल टोपी निकालेर गालामा हात राख्नुपर्ने अवस्था आउने बताए ।
उनले भने,‘७० वर्ष भए पनि एमाले युवा पार्टी हो, एउटा सल्लोको रुख ५० वर्षमा पनि बढ्दै हुन्छ, एउटा तीतेपातीको बुटो ३ महिनामा मर्छ । एस पार्टी भन्ने छ नि आजकाल, पोहोर भदौमा जन्मियो, अहिले भदौमा वैंश आयो अर्को भदौ पुग्दैन । तितेपातीको झारजस्तै हो ।’
उनले सरकारले अधिनायकवाद लाद्न खोजेको आरोप लगाए । अध्यक्ष ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई दिएको सुरक्षा र गाडी सरकारले खोस्नु अधिनायकवादको संकेत भएको बताए । उनले आफूले कसैको पक्ष नलिएको तर सरकारले गरेका गैरकानुनी र अधिनायवादी कामको विरोध गरेको बताए ।
अध्यक्ष ओलीले एमालेविरुद्ध लाग्नेहरुलाई अरिङ्गाल बनेर ध्वस्त पार्न निर्देशन दिए । उनले भने, ’अरिंगालजस्तो प्रचारवाजीमा लाग्नुपर्छ भन्दा अरिंगाल लगाउने कुरा गर्यो भन्छन् । लगाउने नै हो। हाम्राविरुद्ध सारा सञ्चारमाध्यम लगाउन हुन्छ । बारुला भएर लाग्न हुन्छ। अनि हामी अरिंगाल बन्न नहुने?’