
नाइजेरियामा डुङ्गा दुर्घटनामा परी कम्तीमा पनि ७६ जनाको ज्यान गएको छ । दक्षिणी सहर अनाम्बरामा डुङ्गा दुर्घटना भएको हो ।
दुर्घटनाको नाइजेरियाका राष्ट्रपति मोहम्मदु बुहारीले पुष्टि गरेका छन् । त्यहाँ भएको दुर्घटनामा परेर कम्तीमा पनि ७६ जनाको ज्यान गएको र यहाँका सबै सुरक्षा निकाय तथा उद्धारकर्मीहरुलाई उद्धारका लागि लगाइएको राष्ट्रपतिको कार्यालयको विज्ञप्तिमा जानकारी दिइएको छ ।
शुक्रबार राति सो दुर्घटना भएको थियो । गत शुक्रबार ८५ जना यात्रु लिएर गएको डुङ्गा देशको दक्षिणी प्रान्त अनाम्बराको ओग्बुरुमा पुगेर दुर्घटनामा परेको थियो । त्यसमा रहेका अरु यात्रुको उद्धार गरिएको थियो । त्यस समयमा आएको बाढीका कारण डुङ्गा डुबेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ ।
नाइजेरियामा समय समयमा डुंगा दुर्घटना हुने गर्दछ । यहाँ विशेषगरी क्षमताभन्दा बढी यात्रु राख्ने गर्नाले डुंगा दुर्घटनामा पर्ने गरेका छन् ।