
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले गृह मन्त्रालयमा शिष्टाचार बिदाइ भेट गरेकी छिन्।
बिहीबार भएको भेटमा नेपाल–चीनबीचको आपसी सम्बन्ध, आपसी सहयोग आदान– प्रदानलगायत विषयमा कुराकानी भएको छ। गृहमन्त्री खाणले भेटमा नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिबद्ध रहेको बताए।
‘नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा प्रतिबद्ध छ,’ गृहमन्त्री खाणले भने, ‘नेपाल सरकार, नेपाली जनता एक चीन नीतिप्रति विश्वस्त छौँ। छिमेकी मुलुकको सुरक्षा संवेदनशीलतामा सरकार संवेदनशील छ।’
उनले नेपालमा कुनै पनि मुलुकविरुद्ध कुनै अवाञ्छनीय गतिविधि हुन नदिने बताए। त्यस्तै, गृहमन्त्री खाणले राजदूत यान्छीको कार्यकालमा भएको चिनियाँ राष्ट्रपति सी चिनफिङ, चिनियाँ राष्ट्रिय जनकंग्रेसका अध्यक्ष लि चान्सुलगाययत उच्च पदस्थ अधिकारीको नेपाल भ्रमणले नेपाल चीन सम्बन्धलाई अझै सुदृढ बनाएको बताए।
नेपाल–चीन बीचमा कूटनीतिक सम्बन्धका साथसाथै सामाजिक र सांस्कृतिक सम्बन्ध पनि रहेको बताउँदै खाणले नेपालको भौतिक विकास, प्राकृतिक विपद् र महामारीको बेलामा पुर्याएको सहयोगका लागि चिनियाँ सरकार र चिनियाँ जनतालाई राजदूत यान्छीमार्फत् धन्यवाद दिए।
राजदूत यान्छीले चार वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरेर नयाँ महत्त्वपूर्ण जिम्मेवारीका लागि जान लागेकोमा शुभकामना व्यक्त गरे। स्वदेश फर्किएपछि पनि यान्छीले नेपाल–चीन सम्बन्ध प्रगाढ बनाउन र नेपालको विकास र समृद्धि, सदभाव र सहयोग, पर्यटनको विकासमा चिनियाँ नागरिकहरूलाई नेपाल भ्रमणमा प्रेरित गर्न निरन्तर भूमिका खेलिरहने विश्वास गृहमन्त्री खाणले व्यक्त गरे।
राजदूत यान्छीले नेपालको विकास र प्रगतिका लागि चीनले सदैव सदभाव र सहयोगका साथसाथै शुभकामना व्यक्त गरिरहेको बताइन्। पर्यटन विकासका लागि नेपाल भ्रमण आउने वातावरण चिनियाँ सरकारले मिलाउने र आफूले व्यक्तिगत रूपमा नेपालको भौगालिका, सामाजिक र सांस्कृतिक विविधता तथा नेपालीको पर्यटक र पाहुनाप्रतिको सदभावबारे आफ्ना चिनियाँ साथी र जनतासम्म विचार राख्ने यान्छीले बताइन्।
खाण गृहमन्त्री भएपछि चीन–नेपाल सम्बन्ध सुदृढ बनाउन खेलेको भूमिकाको प्रसंसा गर्दै राजदूत यान्छीले चीनको सुरक्षा संवेदनशीलतालाई गम्भीररूपमा लिएकोमा धन्यवाद व्यक्त गरिन्।