
अमेरिकाका एकजना रेडियो प्रस्तोता एलेक्स जोन्सलाई सन् २०१२ मा भएको स्यान्डी हुक स्कूल गोलीकाण्ड झुट्टा थियो भनेर मिथ्या दाबी गरेको अभियोगमा अदालतले दोषी करार गर्दै करिब एक अर्ब डलर जरिवाना सजाय तोकेको छ ।
उक्त गोलीकाण्डका आठ जना पीडितका परिवारले कनेटिकट राज्यमा भएको मानहानी मुद्दाका दौरान ती रेडियो प्रस्तोताका झुट्टा दाबीहरूले एक दशकसम्म आफूहरूलाई मार्ने धम्की तथा अन्य प्रताडना आइपरेको बताएका थिए ।
सन् २०१२ मा भएको गोलीकाण्डको वर्षौँसम्म पनि जोन्सले उक्त हत्याकाण्ड वास्तवमा सरकारले नै बन्दूकसम्बन्धी कानुन कडा बनाउन मञ्चन गरेको नाटक भन्ने गरेका थिए ।
उनीविरुद्ध मुद्दा हालेकामध्ये एकजना रोबी पार्करले उक्त मुद्दाले उनलाई आफ्नो आवाज राख्न सघाएको तथा जोन्सको मिथ्या सूचनाविरुद्ध लड्न सघाएको टिप्पणी गरेका छन् ।
अदालतको आदेशविरुद्ध जोन्सले पुनरावेदन गर्ने बताइएको छ । स्यान्डी हुक इलेमेन्टरी स्कूलमा भएको घटनामा २० बालबालिका तथा ६ जना वयस्कको ज्यान गएको थियो । विभिन्न षडयन्त्रका सिद्धान्तबारे बोलिरहने जोन्सले त्यस्तै विषयवस्तुले भरिएको इन्फोवार्स वेबसाइट तथा रेडियो टक शो चलाउँथे ।
वर्षौसम्म उनले स्यान्डी हुकको घटना सरकारले ’अमेरिकी जनताको हातबाट बन्दूक खोस्न’ मञ्चन गराएको झुट्टा नाटक भएको र त्यसमा ’कसैको ज्यान नगएको’ दाबी गरेका थिए ।
तीन सातासम्म चलेको मुद्दामा कतिपय अभिभावकहरूले भावपूर्ण बयान दिएका थिए । कतिपयले आफूहरूले अनलाई घृणाको बाढी नै बेहोर्नुपरेको बताएका थिए भने कतिपयले सुरक्षाका लागि बासस्थान छाडेर अन्यत्र जानु परेको बताएका थिए ।
बुधबारको फैसला आउँदै गर्दा जोन्सले प्रसारण गरेका थिए र अदालती प्रक्रियाको खिल्ली उडाएका थिए। उनले आफ्ना समर्थकहरूलाई तत्काल चन्दा दिन आह्वान गर्दै त्यो पैसा उनको कानुनी लडाइँको खर्च बेहोर्न भने प्रयोग नगरिने बताएका थिए । उनका वकिल नर्म प्याटिसले फैसलाविरुद्ध पुनरावेदन गरिने बताए।