महेन्द्रनगर । भनिन्छ राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैन । निर्वाचनका बेला तालमेलदेखि गठबन्धनसम्म गरिरहेका राजनीतिक दलहरुभित्र कुन बेला को शत्रु र को मित्र हुने भन्ने यकिन हुँदैन् । कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर १ मा यस्तै अवस्था छ । मुलुक निर्वाचनमय बनेका बेला कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा पाँच दलीय गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी की नेतृ एवं पूर्वमन्त्री वीना मगर चुनावी मैदानमा छिन् ।
उनले २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसका दिवानसिंह विष्टलाई १९ हजारभन्दा बढी मतले पराजित गरेकी थिइन् । उनी लगत्तै खानेपानीमन्त्री बनिन् । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा भने अघिल्लो निर्वाचनमा पराजित तिनै विष्ट मगरको सारथी बनेका छन् ।
कांग्रेस नेता विष्टले २०७० सालमा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा मगरलाई झिनो मतान्तरले पराजित गरेका थिए । दोस्रो पटकको प्रयासमा उनी निर्वाचित भइन् । विसं २०७४ को निर्वाचनमा भने नेकपा एमालेका तत्कालीन जिल्ला अध्यक्ष तारा लामा तामाङ मगरको मुख्य सारथी थिए ।
तर यसपटकको निर्वाचनमा भने तिनै तामाङसित मगरले मुख्य प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । पाँच दलीय गठबन्धनले क्षेत्र नम्बर १ मा मगरलाई प्रतिनिधिसभातर्फ उम्मेदवार बनाएको छ । एमालेले भने सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तामाङलाई चुनावी मैदानमा उतारेको छ ।
एमाले फुट्दा नेकपा (एकीकृत समाजवादी) पार्टीमा लागेका तामाङ सुदूरपश्चिम प्रदेशको आर्थिक मामिलामन्त्रीसमेत बने । उनलाई केही महिनाअघि मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले महेन्द्रनगरमा आयोजित कार्यक्रममा पार्टीमा फर्काएका हुन् ।
यसअघि २०७४ सालमा भएको कम्युनिष्ट गठबन्धनमा मगरले प्रतिनिधिसभा सदस्यमा जित्दा तामाङ भने सुदूरपश्चिम प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । आसन्न निर्वाचनमा कांग्रेस नेता विष्ट निर्वाचन क्षेत्र नं १ ‘ख’ बाट प्रदेशसभा सदस्यतर्फ उम्मेदवार छन् ।
कांग्रेसको साथ पाएकी मगर जितलाई निरन्तरता दिने रणनीतिका साथ चुनावी मैदानमा छिन् । एमाले उम्मेदवार तामाङ पहिलोपटक प्रतिनिधिसभा सदस्यका लागि निर्वाचनमा होमिएका छन् । पार्टीको टिकट वितरणबाट असन्तुष्ट बनेका एमालेका पुराना नेता खेम सुवेदी उक्त निर्वाचन क्षेत्रबाट स्वतन्त्रबाट उम्मेदवार बनेका छन् । माछा चुनाव चिह्नका साथ निर्वाचनमा होमिएका सुवेदीले एमालेको भोट बढी ल्याउने आकलन गरिएको छ ।
त्यो अवस्थामा तामाङलाई जित्न असहज हुने एमालेका एक स्थानीय नेताले बताए । चार पालिका रहेको निर्वाचन क्षेत्र नम्बर १ मा दुई पालिकामा कांग्रेस र एक/एक पालिकामा माओवादी केन्द्र र एमाले विजयी भएका थिए । कांग्रेसका पूराना नेता गोपाल गुरुङ माओवादी केन्द्र र कांग्रेसको मिलनले गठबन्धनका उम्मेदवारलाई फाइदा पुग्नेमा विश्वस्त छन् ।
अघिल्लो निर्वाचनमा प्रदेशसभामा एमाले नेता तामाङसित पराजित भएका नेता गुरुङले गठबन्धनलाई सहज तथा अन्यलाई जित्न सकस हुने दाबी गरे ।
एमालेबाट निर्वाचन क्षेत्र नं १ ‘ख’ बाट प्रदेशसभा सदस्यका उम्मेदवार भएका एमाले जिल्ला सचिव पल्लवराज भट्ट भने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पाँचदलीय गठबन्धनभन्दा एमाले उम्मेदवार बलियो अवस्थामा रहेको दाबी गर्छन् । “दुवैमा एमाले उम्मेदवारको जित सुनिश्चित छ”, घरदैलो अभियानमा व्यस्त उनले भने ।