
काठमाडौं । नेकपा एमालेले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । मंगलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन् । करिब २० हजार शब्द रहेको घोषणापत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ ।
भोकमरीको अन्त्य, असुरक्षित बसोबास स्थानान्तरणसहितका २० ग्यारेन्टी भन्दै योजना प्रस्तुत गरेका अध्यक्ष ओलीले राष्ट्रिय स्वाधीनताको रक्षा कि विदेशी हस्तक्षेपलाई आमन्त्रण गर्नेसहितका ६ प्रश्न जनतालाई सोधेका छन् । घोषणा पत्रमा सूर्य चिन्हमा किन मतदान गर्ने भन्ने कुरालाई प्रस्ट्याउने प्रयास गरिएको छ। घोषणा पत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिइएको छ ।
चुनावी घोषणापत्र जारी गर्दै एमालेले नेपालीलाई मात्रै नागरिकता दिने प्रतिबद्धता व्यक्त गरेको हो । सरकारको बनेको शुरुवाती समयमा वंशजको आधारमा नागरिकता दिने र ६ महिनाभित्र नागरिकतासँग सम्बन्धित सबै समस्या समाधान गर्ने प्रतिबद्धता घोषणा पत्रमा उल्लेख गरिएको छ । एक वर्षभित्रमा सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने प्रतिबद्धता एमालेको घोषणा पत्रमा छ ।
सत्ता गठबन्धनमा आबद्ध नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)ले संविधानको रक्षालाई मूल नारा बनाएर यस अघिनै चुनावी घोषणा पत्र सार्वजनिक गरिसकेका छन् ।