
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले स्वतन्त्र व्यक्ति राष्ट्रपति र जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, मुख्यमन्त्री हुनुपर्ने प्रस्ताव गरेको छ । बिहीबार पार्टीले सार्वजनिक गरेको घोषणापत्र (वाचा पत्र) मा कुनै पनि राजनीतिक दलमा नलागेको वा राजनीतिक लाभ नलिएको १० वर्ष पुरा नभएको वंशज नेपाली नागरिक राष्ट्रपति हुनुपर्ने प्रस्ताव गरेको हो ।
घोषणापत्रमा भनिएको छ, ‘जनताद्धारा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री हुने । मुख्यमन्त्रीले फरक लिङ्गको उपमुख्यमन्त्री नियुक्त गर्ने । प्रदेश मन्त्रिपरिषदका सदस्य हुने र पालिका समन्वयन गर्ने गरी मुख्यमन्त्रीबाट जिल्ला प्रमुख नियुक्त हुने । प्रदेश प्रमुख खारेज हुने । प्रदेश प्रमुखबाट गराइने सपथ राष्ट्रपतिबाट गराइने जिल्ला समन्वय समिति खारेज हुने । प्रदेश सरकार प्रदेश परिषद्प्रति उत्तरदायी रहने ।’ घोषणापत्रमा अबको ३१ वर्षमा देश निर्माणका लागि आधार तयार हुने दाबी पेश गरिएको छ ।
घोषणापत्र सार्वजनिक कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछानेले आफूले चुनावमा गरेका बाचा पूरा नगरे मतदाताले जस्तो कारबाही गरे पनि भोग्न तयार रहेको बताए । उनले मतदातालाई कारबाहीको व्यहोराको कागज तयार गरेर राख्न आग्रह गर्दै उनले त्यसमा आफूले ल्याप्चे लाउनेसमेत बताए ।