बझाङ । आसन्न निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार भानुभक्त जोशी तीन दशकअघि चुनाव लड्दा उनका एजेन्डा थिए बिजुली र बाटो । ताक्लाकोट सडकबारे चर्चा हुन थालेको पनि त्यति बेलैदेखि हो । ताक्लाकोट सडकको ट्र्याक, अरु ग्रामीण सडक बिस्तार, खानेपानी, स्वास्थ्य, शिक्षा, पर्यटन यस्तै–यस्तै थिए चुनावी एजेण्डा ।
त्यसयता देशमा धेरै चुनाव भए । तर उम्मेदवार फेरिए होलान् एजेण्डा फेरिएका छैनन् । त्यसो त यस क्षेत्रका उम्मेदवार पनि भानुभक्त जोशी नै छन् । कैयन राजनीतिक परिवर्तन पनि भए । तर हरेक निर्वाचनमा जोशी र उनको पार्टीका एजेण्डा भने फेरिएनन् ।
आसन्न निर्वाचनमा प्रतिनिधिसभा सदस्य उम्मेदवार जोशीले यसपटक पनि ताक्लाकोट नाका खुलाउने र बझाङलाई प्रमुख व्यापारिक केन्द्र बनाउने योजना छाडेका छैनन, बरु थप बिस्तार गर्ने वाचा गरेका छन् ।
“मैले राजनीति सुरु गर्ने बेला डडेल्धुरासम्म मात्रै सडक पुगेको थियो तर अब बझाङका सबै वडासम्म बाटो पुग्दैछ”, जोशीले भने, “अधिकांश ठाउँमा सडक पुगिसक्यो । प्रत्येक वर्ष थोरै–थोरै काम गर्दै यहाँसम्म पुग्न सकेका हौँ, यसमा मेरो मुख्य भूमिका छ ।”
उनले हरेक पटक आफ्नो पार्टी सरकारमा हुँदा होस् वा नहुँदा होस् आफूले निरन्तर ताक्लाकोटका बारेमा वकालत गरिरहेको दाबी गर्छन् । यसपटक निर्वाचन जिते ताक्लाकोट सडक खोलेरै छाड्ने उनको वाचा छ । “म धेरै भन्दिन तर चुनाव जिते मेरै कार्यकालमा उत्तरी नाका खुल्छ, यो भनेको समृद्धिको ढोका खोलिनु हो”, उनले भने ।
आफू पदमा रहँदा सडक निर्माणका लागि सक्दो बजेट विनियोजन गराएको र आफ्नै सक्रियतामा केही ठाउँमा ट्रयाक खोलिएको उनको दाबी छ । त्यसैगरी नेकपा (एमाले)का पुराना नेता एलबी रावल पनि आफू जिल्ला विकास समितिमा र संविधानसभामा रहँदा उत्तरी नाकाकै बढी वकालत गरेको दाबी गर्छन् ।
रावलको सुरूवाती निर्वाचनको एजेण्डा पनि ताक्लाकोट नाका नै थियो । “म विभिन्न पदमा रहेका बेला ताक्लाकोट सडक नै मेरो प्राथमिकतामा पर्यो । म जिविस बझाङको क्षेत्र नम्बर ९ थलाराबाट क्षेत्रपाल हुँदासमेत यो सडक हुनुपर्ने माग गरिरहन्थें । २०७० मा निर्वाचित भएपछि सेती नदी तर्ने पहिलो पुल निर्माण, सेती नदी र कालङगालगायतका नदीमा १० वटा पुलको डिपिआर तयार भएर निर्माणको सुरूवात गराएँ”, उनले भने ।
उनले चैनपुर–ताक्लाकोट सडक निर्माणका लागि आफूले एक अर्ब विनियोजन गराएको स्मरण गरे । “दोस्रो पटक ४० करोड हालेर चैनपुर–ताक्लाकोट भनेर एउटा प्रोजेक्ट बनाएर एक अर्ब ४० करोडको ठेक्का गराएको हुँ”, उनले भने । अब निर्वाचित भए ताक्लाकोट नाका खुलाउन सक्दो पहल गर्ने उनको जिकिर छ ।
अफिलाल ओखेडाले पनि आफू संविधानसभा सदस्यसमेत रहेका बेला ताक्लाकोट नाका खुलाउने एजेण्डा बनाएको दाबी गरे । उनले पनि आफू संविधानसभा सदस्य हुँदा ताक्लाकोट सडकका लागि करोडौँ रूपैयाँ बजेट विनियोजन गराएको जिकिर गरे ।
उनले भने, “त्यसबेला संसद्मा पनि ताक्लाकोट सडककै बारेमा वकालत गरिरहेको हुँ । यसपटक जिते भने ताक्लाकोट नाका खुलाएरै छोड्नेछौँ ।” बझाङको आर्थिकस्तर उकास्नका लागि उत्तरी नाका खोल्नैपर्ने उनको भनाइ छ ।
नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार ऐन महर, प्रदेश १ का लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार पृथ्वीबहादुर सिंह र प्रदेश २ का गठबन्धनकै उम्मेदवार भीम भण्डारी भने निर्वाचन लड्ने नयाँ अनुहार छन् ।
निर्वाचनका लागि नयाँ अनुहार भए पनि चुनावी एजेण्डा भने सबै उम्मेदवारका लागि ताक्लाकोट सडक नै छ । लामो समय पार्टीकै जिम्मेवारीमा बस्दै आएका नेताहरु बझाङमा आएको विकासे बजेटको साक्षीदेखि बजेट माग्ने पहलकर्ता पनि हुन् । अब आफू सांसद भए ताक्लाकोट नाका खुलाएर सम्भावनै सम्भावना भएको बझाङले छिट्ट्रै रङ फेर्ने तीनै जनाको दाबी छ ।
“हाम्रो पार्टी सरकारमा भएको बेलामा ताक्लाकोटमा बजेट आएको र अब पनि म पदमा पुगेपछि अरू काम थन्क्याएर पनि ताक्लाकोट नाका खुलाउने प्रमुख काम रहन्छ,” महरले भने ।
पहिलो व्यापारिक मार्गका रूपमा रहेको ताक्लाकोट सडक खुल्ने वित्तिकै बझाङको जडीबुटी, हिमाली उत्पादन सबै निर्यात हुने र अर्थतन्त्रमा बझाङ अब्बल हुने उनको भनाइ छ ।
कति काम भयो ताक्लाकोट सडकमा ?
ताक्लाकोट नाका पुग्ने चीनले एकतर्फी रूपमा काम सम्पन्न गरेको छ । चीनले उरै भञ्ज्याङ नजिकै ठाडो ढुङ्गासम्म सडक निर्माण गरिसकेको छ । बझाङ सदरमुकाम चैनपुरबाट एक सय तीन किलोमिटर दूरीमा पर्ने उरैमा पुग्न नेपालतर्फबाट भने अझै ६३ किलोमिटर सडक खन्न बाँकी छ । यता बझाङबाट भने ४० किलोमिटर उत्तरसम्म मात्रै ट्रयाक खुलेको छ ।
कछुवागतिमा काम भइरहेको सेती लोकमार्ग उत्तर खण्डअन्तर्गत पर्ने यो सडक निर्माणका लागि दुई वटा ठेकेदार कम्पनीले काम गरिरहेका छन् । भौतिक प्रगति सन्तोषजनक नभएको सेती लोकमार्ग उत्तर खण्ड (चैनपुर–ताक्लाकोट) सडक आयोजना कार्यालयले जनाएको छ ।
१८ किलोमिटर दूरीको चैनपुर–रुवातोला सडकलाई चौडा बनाउने कामका लागि २०७३ मा ठेक्का सम्झौता भएर काम सुरू गरेको लुम्बिनी र राजेन्द्र निर्माण सेवाले हालसम्म काम सम्पन्न गर्न सकेको छैन ।
दुई वर्षभित्र काम सक्ने गरी सुरूआती ठेक्का सम्झौता गरेकोमा सात वर्षमा ९५ प्रतिशत काम गरेको आयोजना कार्यालयका प्रमुख सुरेन्द्रबहादुर सिंहले बताए । यस्तै तल्कोटको रूपातोलादेखि साइपालको धुलीसम्म ४० किलोमिटर सडक निर्माणको जिम्मा लिएको स्वच्छन्द नागार्जुन जेभी कम्पनीको काम झनै कछुवा गतिमा छ ।
साढे चार वर्षमा सम्पन्न गर्ने गरी २०७४ मा ठेक्का लिएको यस कम्पनीले पाँच वर्ष हुँदा पनि ५० प्रतिशत काम गरेको छैन ।
चार वर्षको अवधिमा १४ किलोमिटर ट्रयाक खोलेको छ । आयोजना कार्यालय प्रमुख सिंहका अनुसार यस नागार्जुन जेभीले ०७६ पछिका ३ वर्षमा थप ६ किलोमिटर ट्रयाक खोलेको छ ।
“प्राकृतिक स्रोतले भरिएको यी ठाउँमा कैयन सम्भावना छन्,” एमालेका उम्मेदवार ऐन महरले भने, “दुई हजार मेगावाट विद्युत उत्पादन, पर्यटन गन्तव्य र कृषिको अथाह सम्भावना छ, त्यसैले चैनपुर ताक्लाकोट बाटो मानसरोबरसम्म जोड्न सकियो भन वैदेशिक व्यापार गर्न सजिलो हुनेछ ।”
नेपाली कांग्रेसका नेता तथा प्रदेश १ बाट गठबन्धनका उम्मेदवार पृथ्वीबहादुर सिंहले पनि बझाङको भविष्य सडक र विद्युतबाट फेरिने बताए । उनले भने, “गाउँ–गाउँमा सडक पुगिसकेको छ । अब ताक्लाकोट नाका खुलेपछि यहाँको उत्पादन चीनसम्म पुर्याउन सकिन्छ ।”
एमालेका उम्मेदवार ओखेडा पनि आफूलाई हाइड्रोपावरको पक्षपाती भएको बताउँछन् । उनी भन्छन्, “मैले सांसदमा भएको बेला धेरैजसो हाइड्रोपावरकै बारेमा वकालत गरेँ । त्यसैको परिणाम अहिले पनि धमेनामा २१० मेगावाटको विद्युुत प्राधिकरणले मेगा प्रोजेक्ट बनाउँदैछ, ८७ मेगावाटको चैनपुरमा बन्ने तयारी छ ।”
राधा ज्ञावाली उर्जामन्त्री भएको बेलामा पटक–पटक बझाङका योजनाको बारेमा ध्यानाकर्षण गराएको उनको भनाइ छ । अब पनि चुनाव जितेर संसदमा गएपछि धमेनामा बन्दै गरेको हाइड्रोपावर, कालङ्गा हाइड्रो, बाहुलीगाड, सुनीगाड तथा ओखेलजस्ता ठूला हाइड्रो निर्माणमा तीव्रता दिन पहल गर्ने बताए ।