काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ ।
डिसेम्बरको अन्तिमसम्म भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको तयारी भइरहेको नेपाल एयरलाइन्सका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । उनका अनुसार उक्त प्रयोजनका लागि निगमका वाणिज्य निर्देशक जनकराज कालाखेतीको संयोजकत्वमा गठित समितिले उडान सञ्चालनबारे अध्ययन गरिरहेको छ ।
अध्ययन प्रतिवेदन बुझाएपछि निगमको बोर्ड बैठकबाट निर्णय गरी डिसेम्बरभित्रै व्यावसायिक उडान सञ्चालनको योजनाअनुरुप सरोकारवालासँग परामर्श भइरहेको प्रवक्ता खड्काले बताइन् ।
उनले भनिन् “डिसेम्बरको अन्तसम्ममा उडान गर्ने भनेर तयारी हुँदैछ । कुन–कुन गन्तव्यमा उडाउने भन्नेबारे समितिको प्रतिवेदनपश्चात् बोर्डले निर्णय लिनेछ ।”
हाल गौतमबुद्ध विमानस्थलबाट कुवेतको जजिरा एयरलाइन्सले सातामा तीनवटा उडान गरिरहेको छ ।
नेपाल एयरलाइन्सले भारतका तीनसहित आठ देशका १० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । एयरलाइन्ससँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान वाइडबडी ए–३३० र दुई थान न्यारोबडी ए–३२० जहाज छन् ।
गौतमबुद्ध विमानस्थल व्यावसायिकरूपमा सञ्चालनमा आएको साढे पाँच महिनापछि गत कात्तिक १७ देखि हिमालय एयरलाइन्सले मलेसियाको क्वालालम्पुरका लागि नियमित चार्टर्ड उडान सञ्चालन गर्दै आएको छ । एयरलाइन्सले दैनिक एक चार्टर्ड उडान गरिरहेको छ ।
नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिकरूपमा तीनभन्दा बढी उडान गर्ने विमान कम्पनीलाई भैरहवाबाट पनि गर्नुपर्ने व्यवस्था गरेको थियो । जसका कारण हिमालय एयरलाइन्सले चार्टर्ड उडान सुरु गरेको थियो ।
नेपाल एयरलाइन्सले पनि थप उडानका लागि भैरहवा विमानस्थलबाट उडान गर्न लागेको हो । नेपाल एयरलाइन्सले भैरहवाबाट छिट्टै अन्तर्राष्ट्रिय उडान गर्ने गरी छलफलमा रहेको प्राधिकरणको भनाइ छ ।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थलमा स्वदेशी कम्पनीले कम्तीमा पनि एउटा अन्तर्राष्ट्रिय उडान गर्दै अन्तर्राष्ट्रिय एयरलाइन्सलाई आकर्षित गर्न नियामक निकायले बाध्यकारी व्यवस्था गरेको थियो ।
प्राधिकरणले नेपालका दुई नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससहित पाँच अन्तर्राष्ट्रिय एयरलाइन्सलाई गौतमबुद्ध विमानस्थलबाट उडान गर्न लिखितरुपमा आग्रह गरिसकेको छ ।
प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी विदेश जाने यात्रुलाई आन्तरिक उडानमा २५ प्रतिशत छुट दिने निर्णयसमेत भएको छ ।
यो विमानस्थलबाट नोभेम्बर १२ तारिखदेखि कुवेत एयरले पनि उडान सुरु गर्ने प्राधिकरणले जनाएको छ । यस्तै थाइल्याण्डलगायतका देशका वायुसेवा कम्पनीबाट समेत उडान भर्ने तयारी भइरहेको प्राधिकरणको भनाइ छ ।
२०७१ माघ १ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरी निर्माण सुरु भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७९ जेठ २ गतेदेखि सञ्चालनमा आएको हो ।
विमानस्थलले अहिले अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवालाई नेपाल नागरिक उड्डययन प्राधिकरणले असुल गर्ने अवतरण शुल्क, विश्राम शुल्क, सञ्चार तथा उड्डयन शुल्क, सुरक्षा शुल्कमा एक वर्षका लागि शतप्रतिशत छुट दिएको छ । यस्तै नेपाल वायुसेवा निगमले असुल गर्ने ग्राउण्ड ह्याण्डलिङ सेवामा एक वर्षका लागि ५० प्रतिशत छुट प्रदान गरिएको विमानस्थले जनाएको छ ।