म्याग्दी । म्याग्दी र राहुघाट नदीमा निर्माणाधीन तथा निर्माणको क्रममा रहेका आयोजनाबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रणालीमा आबद्ध गराउन सवस्टेशन र प्रसारण लाइन निर्माण सुरु भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका–७ विमदेखि रघुगङ्गा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाउँमा सवस्टेशन निर्माण थालेको हो । सवस्टेशन र राहुघाट जोड्ने प्रसारण लाइन निर्माण सुरु भएसँगै अनुमति लिएर बसेका प्रवद्र्धक सक्रिय भएका छन् ।
विद्युत् प्राधिकरणको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाका प्रमुख रोशन अग्रवालले दुवै ठाउँमा जग्गा व्यवस्थापनको काम सकेर सवस्टेशनका उपकरण राख्ने ठाउँ बनाउन सुरु भएको र प्रसारण लाइनका टावर रहने ठाउँको जग्गा अधिग्रहण प्रक्रिया थालिएको जानकारी दिए ।
सन् २०२१ को डिसेम्बर ३१ मा भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी)सँग २६ मिलियन अमेरिकी डलरमा सवस्टेशन र प्रसारण लाइन निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । आयोजनाको ठेक्का अवधि ३० महिनाको छ ।
ठेकेदार कम्पनीले स्थलगत सर्वेक्षण र जग्गा व्यवस्थापनको काम सकेर पूर्वाधार निर्माणलाई तीव्रता दिएको जनाएको छ । पच्चीस किलोमिटर दूरीको १२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनको ७७ वटा टावर निर्माण हुनेछन् ।
टावर निर्माण हुने जग्गाको पहिचान र नाचजाँच तथा अधिग्रहणका लागि मुआब्जा वितरणको काम भइरहेको छ ।
रघुगङ्गा गाउँपालिकाको वडा नम्बर ३, बेनी नगरपालिकाको ९, १० मङ्गला गाउँपालिकाको वडा नम्बर १, मालिकाको वडा नम्बर ६ र ७ मा प्रसारण लाइनको टावर निर्माण हुनेछन् । डाँडाखेत सवस्टेशनमा १३३/३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रविधिको उपकरण जडान गरिने भएको छ ।
२२०/१३२/३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने राहुघाट सवस्टेशन जिआइएस प्रविधिको हुने आयोजना प्रमुख अग्रवालले बताए । एशियाली विकास बैंकको ऋणमा प्रसारण लाइन र सवस्टेशन निर्माण गर्न लागिएको हो ।
डाँडाखेतमा सवस्टेशन बनाउन पाँच वर्षअघि ५१ रोपनी र राहुघाटको अम्बाङमा करिब ९० रोपनी जग्गा अधिग्रहण गरेर प्रारम्भिक चरणको पूर्वाधार निर्माण भएको छ ।
दुवै ठाउँमा जग्गा व्यवस्थापन, घेराबार, पहुँचमार्गका साथै डाँडाखेतमा गार्ड र कर्मचारी आवासगृह भवनसमेत निर्माण भएको छ । म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताको चार वटा जलविद्युत् आयोजना निर्माण सुरु भएका छन् ।
संसारको सातौं अग्लो धौलागिरि हिमालको फेदीबाट बग्ने म्याग्दी नदीमा दुई वटा आयोजनाले पूर्वाधार निर्माण सुरु गरेका छन् । थप दुई वटा आयोजनाले लगानी जुटाएर पूर्वाधार निर्माणको तयारी गरेका हुन् ।
राहुघाटमा ३५.५ मेगावाटको राहुघाट मङ्गले र ४८.५ मेगावाट क्षमताको अपर राहुघाट, २१.३ मेगावाट क्षमताको ठूलोखोला र ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणाधीन छन् ।
५.५ मेगावाट क्षमताको बगरखोला, ४.७५ मेगावाटको स्यानोखोला, ४.९० मेगावाटको अपर ठूलोखोला र १५ मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको चरणमा छन् ।