इलोन मस्कले ट्विटरको कार्यकारी प्रमुखको पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उक्त पदका लागि योग्य व्यक्ति फेला परेपछि आफूले पदत्याग गर्ने उनको भनाइ छ । यी अर्बपतिले यसअघि ट्विटरमा एउटा सर्वेक्षण गर्दै आफूले राजीनामा दिने सङ्केत गरेका थिए । त्यसमा सहभागी ५७.५ प्रतिशत प्रयोगकर्ताले उनलाई पद छाड्न भनेर मत दिएका थिए ।
तीन दिनअघिको उक्त ट्विटर सर्वेक्षणमा १ करोड ७० लाख प्रयोगकर्ता सहभागी भएका थिए । उनले उत्तराधिकारी भेटेपछि पनि आफूले सफ्टवेअर र सर्भरको टोलीलाई सञ्चालन गर्ने बताए । उनले ट्विटर किनेपछि यस सामाजिक सञ्जालमा भएका परिवर्तनहरू निकै आलोचित बनेका थिए । मस्कले टेस्ला र स्पेसएक्स समेत सञ्चालन गर्छन् ।
उनी विश्वका सर्वाधिक धनी व्यक्तिमध्ये एक हुन् । अक्टोबरमा उक्त सामाजिक सञ्जाल साइट किनेपछि मस्कले झण्डै आधाजसो कर्मचारीहरू हटाएका थिए । उनले ट्विटरको भेरिफिकेसन सेवालाई पैसा तिर्नुपर्ने गराउने प्रयास समेत गरेका जुन हाललाई रोकिएको छ । नागरिक स्वतन्त्रता पक्षधर समूहहरूले सामग्रीहरू छनौटको उनको रणनीतिको समेत आलोचना गरेका थिए ।
त्यसक्रममा उनीहरूले ती कदमले घृणा फैलाउने र भ्रामक सूचना फैलाउने सूचनाहरू बढाउने आरोप लगाएका थिए । गत शुक्रबार संयुक्त राष्ट्रसङ्घ र युरोपेली सङ्घ ईयूले उक्त सामाजिक सञ्जालबारे लेख्ने केही पत्रकारका खाता निलम्बन गर्ने ट्विटरको निर्णयको निन्दा गरेका थिए । राष्ट्रसङ्घले मिडिया स्वतन्त्रता खेलौना नभएको भन्दै ट्विट गरेको थियो भने ईयूले ट्विटरलाई प्रतिबन्धहरूको चेतावनी दिएको थियो।