कर्णाली । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको नेतामा यामलाल कँडेल सर्वसम्मत चयन भएका छन्। बुधबार बसेको नेकपा एमाले कर्णाली प्रदेशको बैठकले कँडेललाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो । कँडेल सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ प्रदेश सभा (१)बाट निर्वाचित भएका थिए। कँडेल २०७४ को निर्वाचनमा पनि प्रदेश सभामा निर्वाचित भएका थिए ।
कँडेल नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज समेत हुन्। कँडेल कर्णाली प्रदेश सरकारको नेतृत्व गर्ने उद्देश्यसहित दोस्रो पटक पनि प्रदेशमै चुनाव लडेका थिए । यो पटक कणालीमा एमाले १० सिटसहित तेस्रो दलको हैसियतमा छ ।
यस्तै कर्णाली प्रदेश सभा नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा राजकुमार शर्मा सर्वसम्मत चयन भएका छन् । मंगलबार बसेको प्रदेश कमिटी बैठकले शर्मालाई सर्वसम्मत रुपमा दलको नेतामा चयन गरेको हो ।
दल नेताका लागि चार जनाको दाबी रहेपनि अन्ततः शर्मा सर्वसम्मत रुपमा दल नेतामा चयन भएका हुन् । दाबी गर्नेमा कालिकोटका दुर्गबहादुर रावत, सुर्खेतका विन्दमान विष्ट र कृष्ण जिसी रहेका थिए । यसअघि नेपाली कांग्रेसले संसदीय दलको नेता चयन गरिसकेको छ । नेपाली कांग्रेसले संसदीय दलको नेतामा जीवनबहादुर शाही सर्वसम्मत गरेको थियो ।