काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच दुई घण्टा भन्दा बढी समय भेटवार्ता भएको छ । बुधबार प्रधानमन्त्री प्रचण्डलाई भेट्न एमाले अध्यक्ष ओली खुमलटार पुगेका थिए ।
भेटमा मन्त्रिपरिषद बिस्तार, प्रदेश सरकार गठन र सत्ता गठबन्धनमा बाँकी रहेका पदहरुको बाँडफाँट लगायतका विषयमा कुराकानी भएको बताइएको छ । भेटपछि अध्यक्ष ओलीले प्रधानमन्त्रीसँग समसामयिक विषयमा छलफल भएको जानकारी दिएका छन् ।
प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले दुई नेताबीच समसमायिक विषयमा कुराकानी भएको र बाँकी छलफल बिहीबार बालुवाटारमा हुने जानकारी दिए । आज बिहान प्रधानमन्त्री प्रचण्डले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवसँग पनि भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए ।