अमेरिकामा हिम आँधीमा मृत्यु हुनेको संख्या ६० नाघेको छ । न्यूयोर्कको बफेलो सहरमा हिम आँधीका कारण ज्यान गुमाउने मानिसको सङ्ख्या २८ पुगेको छ ।
मौसमसम्बन्धी घटनाहरूका कारण पूरै अमेरिकामा भने ज्यान गुमाउनेको सङ्ख्या कम्तीमा ६२ पुगेको छ । उत्तर अमेरिकाभरि फैलिएको आँधीका कारण हजारौँ मानिसहरू बिजुली बिना नै बस्न बाध्य छन् ।
बफेलो सहरमा सवारीसाधन चलाउन प्रतिबन्ध लगाइएको छ र त्यहाँ ट्राफिक व्यवस्थापनमा मद्दत गर्न सैनिक प्रहरी ल्याइँदै गरेको सरकारी अधिकारीले जनाएका छन् । हिम आँधीका कारण हजारौँ उडानहरू रद्द भएका छन्।
मङ्गलवार बिहान मात्रै करिब ४८ सय उडानहरू रद्द गरिएका थिए। देशैभरका विमानस्थलहरूमा हजारौँ यात्रुहरू अड्किएका छन् । मङ्गलबार थोरै मात्रै हिमपात भएको र मौसम थोरै न्यानो भएका कारण अवस्थामा सुधार आउने ठानिएको छ ।