काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमति आजको आवश्यकता भएको बताएका छन् । “हामीले ७० वर्षसम्म लडेर प्राप्त गरेको लोकतन्त्रलगायतका उपलब्धी रक्षाका लागि राष्ट्रिय सरकारको आवश्यकता छ भन्ने लाग्छ”, उनले भने, “अहिलेको परिवर्तन, व्यवस्था र संविधानलाई जोगाउनका लागि राष्ट्रिय सहमति आवश्यक छ । अहिले पनि राष्ट्रिय सहमति र राष्ट्रिय सहमतिको सरकारको प्रयत्न अझै पनि गर्नुपर्छ कि भन्ने मलाई लाग्छ । यो मेरो भित्र दिलले देखाएको बाटो । एउटा उपाय बाँच्ने बाटो । यो मलाई लागिरहेको छ ।”
मंगलबार आयोजित प्रदेशसभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व र अन्तरक्रिया कार्यक्रममा पौडेलले प्राप्त उपलब्धी संस्थागत गर्न तथा संविधान जोगाउनका लागि एकसाथ जानुको विकल्प नभएको बताए । संविधान निर्माणपछि केही समूहहरु अस्थिरताका लागि काम गर्दै आएको भन्दै उनले सत्ताभन्दा पहिले व्यवस्थाका लागि लड्नुपर्ने बताए ।
संविधान जारी भएपछिको पहिलो निर्वाचनदेखि नै आफूले राजनीतिक क्रान्ति पूरा भएकाले अब आर्थिक क्रान्तिमा जानुपर्ने भन्दै आएको उनको भनाइ छ । नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)लगायतका दलहरुबीचको गठबन्धन भत्किँदा नेपाली कांग्रेसले सत्ता गुमाएको तर त्यसोभन्दा ठूलो अस्थिरता निम्तने खतरा बढ्छ कि भन्ने चिन्ता आफूलाई लागेको उनले बताए ।