काठमाडौं । सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार सत्तारुढ दलका तर्फबाट साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै आगामी ५ वर्षभित्र दोहोरो अंक (१० अंक) बढीको वार्षिक आर्थिक वृद्धिदर कायम गर्नेसहितको कार्यक्रम सार्वजनिक गरिएको हो । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारको न्यूनतम साझा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
गत वर्ष नेपालको आर्थिक वृद्धिदर ५.८ रहेको परिस्थितिबीच पाँच वर्षमा दोहोरो अंकमा पुर्याउने लक्ष्य सरकारले लिएको छ । त्यस्तै, अर्थतन्त्रमा देखिएका अहिलेका समस्या तत्काल समाधान गर्दै अर्थतन्त्रको गतिशीलता अझै थप बढाउने प्रतिवद्धता गरिएको छ ।
समग्र औद्योगिक उत्पादन तथा व्यवसायिक क्षेत्रमा आएको ह्रास, वित्तीय क्षेत्रमा रहेको तरलता संकूचन, उच्च ब्याजदर, बढ्दो व्यापार घाटा, न्यून पुँजीगत खर्च, घट्दो राजस्व संकलन, विदेशी मुद्रा सञ्चितिमा परेको दबाब तथा पुँजी बजारमा आएको गिरावटलगायत समस्यालाई तत्काल गतिशील बनाउने उल्लेख गरिएको छ ।
वित्तीय, मौद्रिक, पुँजी बजार, सहकारी, बीमा र निजी कम्पनीका निकायहरूबीच आवश्यक समन्वय गरी निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्न आवश्यकता अनुसार नीतिगत, संस्थागत तथा प्रक्रियागत सुधार गर्ने साझा न्यूनतम कार्यक्रममा समावेश गरिएको छ ।
आर्थिक स्थायित्व कायम गर्न औद्योगिक नीति, सरकारी वित्त नीति, राजस्व नीति र मौद्रिक नीतिबीच तादत्म्यता कायम गर्नेसमेत घोषणा गरिएको छ । त्यस्तै, सरकारी काम छिटो र सहज बनाउन टाइम कार्ड लागू गरिने पनि न्यूनतम साझा कार्यक्रममा उल्लेख छ ।
सरल र सहज सरकारी सेवाको व्यवस्था गर्न र लाइन बस्नु नपर्ने बनाउन टाइम कार्ड लागू गर्ने अर्थमन्त्री पौडेलले बताए । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टीले सरकारको कामलाई मार्गदर्शन हुने गरी न्यूनतम साझा कार्यक्रम तयार पारेका हुन् ।
अर्थमन्त्री पौडेल नेतृत्वको कार्यदलले न्यूनतम साझा कार्यक्रमको मस्यौदा गरी शीर्ष नेताहरुलाई बुझाएको थियो । आइतबार शीर्ष नेताहरुले न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिएका थिए ।