
बङ्गलादेश सरकारले देशका माछा किसानहरूमाझ गम्भीर चिन्ताको विषय बनेका ‘सकरमाउथ क्याटफिस’ प्रजाति कारोबारमा प्रतिबन्ध लगाएको छ ।
बङ्गलादेशको मत्स्य तथा पशुपन्छी मन्त्रालयले सूचना जारी गर्दै रैथाने प्रजातिका माछाका लागि ठूलो खतरा मानिएको ‘सकरमाउथ क्याटफिस’ आयातमाथि प्रतिबन्ध लगाएको उल्लेख गरेको छ ।
बङ्गलादेशी राष्ट्रपतिको निर्देशनलाई उदृत गर्दै मत्स्य पालन तथा पशुपन्छी मन्त्रालयका उपसचिव मृणाल कान्ति डेले बुधबारदेखि नै क्याटफिसमाथि प्रतिबन्ध लगाएको बताएका हुन् । निर्णयअनुसार अब कसैले पनि ‘सकरमाउथ क्याटफिस’को आयात, बिक्री, आपूर्ति वा संरक्षण गर्न पाउने छैनन् ।
बङ्गलादेशले सन् २००८ मा बङ्गलादेशमा अफ्रिकी पिरान्हाको खेती, प्रजनन, बजारीकरण र व्यापारमा प्रतिबन्ध लगाएको थियो । सन् २०१४ मा स्थानीय माछाको संरक्षणका लागि अफ्रिकी क्याटफिसको आयात, उत्पादन र बजारीकरणमा पनि प्रतिबन्ध लगाइएको थियो ।