काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवसको अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठलगायत सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण गरेकी छन् ।
उनले सहिद दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै सहिद दिवस देश र जनताका लागि प्राण आहुति दिनुहुने महान् सहिदहरूको विशेष सम्झना गरिने दिन भएको उल्लेख गरेकी छन् ।
नेपाली जनतालाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन इतिहासका विभिन्न कालखण्डमा निरंकुश र तानाशाही शासन व्यवस्थाविरुद्ध भएका आन्दोलनहरूमा आफ्नो जीवन बलिदान गर्ने वीर वीरङ्गनाहरूप्रति सम्मान व्यक्त गर्दै हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाइँदै आइएको छ ।
राष्ट्रपति भण्डारीले आफ्नो अमूल्य जीवनलाई जनता र राष्ट्रको हितका खातिर समर्पण गर्नु नै सहादत भएको उल्लेख गर्दै आजको दिनले हामीलाई सहिदहरूले गरेको यही सर्वोच्च त्यागको स्मरण गराउने बताएकी छन् ।
हामीले आज उपभोग गरिरहेको स्वतन्त्रता र नागरिक अधिकार विगतमा सहिदहरूले गरेका बलिदानको प्रतिफल हो । तसर्थ सहिदहरूको बलिदानद्वारा प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रति सच्चा श्रद्धाञ्जलि हुने उल्लेख उनले गरेकी छन् ।
उनले न्यायपूर्ण, समतामूलक, सभ्य एवं सुसंस्कृत समाजका साथै समृद्ध राष्ट्र बनाउने सहिदको सपनालाई मूर्तरूप दिन आ–आफ्नो तर्फबाट खेल्नुपर्ने भूमिकालाई इमान्दारीका साथ पूरा गर्न यस दिवसले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन् ।
उपलब्धिहरू प्राप्तिको श्रेय शहीदहरूलाई जान्छः उपराष्ट्रपति
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले प्रजातन्त्र, लोकतन्त्र, सङ्घीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धिहरू प्राप्तिको मुख्य श्रेय शहीदलाई नै जाने बताएका छन् ।
उनले ‘शहीद दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै प्रजातन्त्र, सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ आफ्नो जीवनको आहुति दिने सम्पूर्ण शहीदहरुको योगदानको उच्च मूल्याङ्कन र शहीद परिवारजनमा उच्च सम्मान व्यक्त गरेका छन् ।
उनले जहानियाँ राणा शासन विरोधी आन्दोलन तथा त्यसपछिका ठूल–ठूला राजनीतिक क्रान्ति तथा सङ्घर्षमा आफ्नो जीवन आहुति दिनुहुने सम्पूर्ण शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।
“नेपाली जनताको लामो राजनीतिक सङ्घर्षपछि गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था स्थापना भएको छ, महान् वीर शहीदहरुको बलिदानीबाट प्राप्त यी उपलब्धिहरु सविधानमार्फत संस्थागत छन्”, उनले भनेका छन् ।