काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सत्तामा जान नपाएर छटपटाइरहेको आरोप लगाएका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा अध्यक्ष ओलीले कांग्रेस सरकार बाहिर रहँदा पानीबिनाको माछाजस्तै छटपटाएको आरोप लगाएका हुन् । उनले पुस १० मा आफ्नो पहलमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बनेदेखि कांग्रेसमा छटपटी भएको बताएका हुन् ।
उनले भने,‘हामी जसरी पनि सरकार बनाउने अवस्थामा थिएनौँ । हामी प्रतिपक्षमा बस्न तयार थियौँ । प्रतिपक्ष मानसिकताका साथ काम गरेका थियौँ तर सरकारको प्रतीक्षा गरिरहँदा निर्धारित समय सकिन लाग्यो । अनि हामीले त्यसपछि सरकार बनाउन पहल सुरु गर्यौँ ।’
उनले अहिले सत्ता बाहिर बसेर कांग्रेसले असंसदीय व्यवहार देखाएको आरोप लगाएका छन् । उनले भने, ‘कांग्रेसले संसदमा खेलेको भूमिका विचित्रको छ। प्रधानमन्त्रीलाई विश्वासको मत दिएर एमालेविरुद्ध उम्मेदवारी दिन छाडेको छैन । अहिले कांग्रेसले आफूलई न सत्ता पक्ष न प्रतिपक्ष भन्न सकेको छ।’
बैठकमा बुढो बाघको कथा सुनाउँदै अध्यक्ष ओलीले बुढो बाघले देखाए जस्तो सुनको बाला लिन कोही नजाने बताए ।
उनले भने, ‘एउटा बाघ बुढो भएछ । यसले एउटा महिलालाई झम्टिएर मारेछ । उनले सुनको बाटा लगाएकी रहिछन् । त्यो बाला त बच्यो । बाघ बाहिर हिड्न छोडेपछि गुफाबाट बाला देखाउँदो रहेछ, ए नानी यो बाला लैजाउ न । मलाई काम छैन, तिमीलाई कति सुहाउँछ हेर त भन्दो रहेछ । कोही नजिक गएर फ्याकिदिनुस् भन्यो भने हातैबाट दिन मन छ बा भन्दोरहेछ । नजिकै गयो भने यताबाट झ्याप्प पार्छ । हाृ कांग्रेसका साथीहरु बाला देखाइरहनु भएको छ ।’
उनले यो कुरा सरकारमा रहेका दलले बुझेको भन्दै कांग्रेसको बाला लिन नजाने बताए । अध्यक्ष ओलीले अस्थिरताका कारण देश विकासले गति लिन नसकेको बताए । उनले देशको राजनीतिक परिवर्तनपछि कुनै पनि सरकारले पूरा कार्यकाल काम गर्न नपाएको बताए । अध्यक्ष ओलीले आफूहरूले राजनीतिक स्थिरताको सधैं अपेक्षा गरे पनि अस्थिरतामात्र हात परेको बताए।