
काठमाडौं । नेकपा एमालेले वर्तमान सत्तारुढ गठबन्धनलाई टिकाएर लानुपर्ने निष्कर्ष निकालेको छ । बिहीबार बसेको सचिवालय बैठकले पार्टीको गठबन्धन टिकाएर लैजानुपर्ने निष्कर्ष निकालेको हो ।
पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले एमालेले गठबन्धन टिकाउने संकल्प गरेको बताए । उपमहासचिव ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा फर्काउने कोसिस जारी रहेको पनि बताए ।
उनले पूर्वसहमति अनुसार गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै दिएर सरकारमा राखिरहनुपर्नेमा त्यसो नभएको बताए ।
उनले भने, ‘हामीले पुस १० गते यो नयाँ कोर्ष निर्माण गरिरहँदा र पछि मन्त्रिमण्डल विस्तार गरिरहँदा जुन ढंगले शक्तिको बाँडफाँट गरेका थियौँ, त्यस हिसावले गृह मन्त्रालय स्वतन्त्र पार्टीलाई दिइनुपथ्र्यो भन्ने हामीलाई लाग्छ । त्यसो गरेर भएपनि उहाँहरुलाई सरकारमा होल्ड गरिराख्नुपथ्र्यो । व्यक्ति कसलाई पठाउनुहुन्थ्यो उहाँहरुको कुरा थियो । त्यसमा अलिकति असमझदारी देखियो । त्यसलाई आधार बनाएर उहाँहरु बाहिरिनुभएको छ । तर बाहिरिए पनि उहाँहरुको भनाई छ, सरकारलाई दिएको विश्वास, समर्थन कायम नै छ । हाम्रो तर्फबाट उहाँहरुलाई त्यो विश्वासमा कायमै राख्ने र एउटा उपयुक्त वातावरण बनाएर सरकारमा फर्काउने हाम्रो कोसिस जारी छ ।’
त्यस्तै जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा ल्याउने कोसिस जारी रहेको बताए । उनले फरक फरक पार्टीको बीचमा गठबन्धन हुँदा असमझदारी देखिनसक्ने भन्दै ती असमझदारीहरुलाई समाधान गर्न सकिने उनले विश्वास व्यक्त गरे ।
त्यस्तै एमलेले पार्टीको वैचारिक र संगठनात्मक सुदृढीकरणका लागि भन्दै दुई महिने विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
‘मिसन ग्रासरुट’ नाम दिइएको सो अभियान देशभर फागुन र चैत महिनाभर चल्ने उममहासचिव ज्ञवालीले जानकारी दिए । उनले पार्टीलाई वैचारिक र संगठनात्मक रुपमा जगैदेखि मजबुत बनाउनका लागि अभियान सञ्चालन हुन लागेको बताए ।