काठमाडौं । सरकारले जनयुद्ध दिवसका अवसरमा सार्वजनिक विदा दिएको भन्दै विरोध भएको छ । कार्यकारी शक्तिको दुरुपयोग भएको भन्दै विदा दिने निर्णयको विरोध भएको हो । संविधानविद डा. भीमार्जुन आचार्यले यो कार्यकारी शक्तिको अधिक दुरुपयोग भएको बताएका छन् ।
आचार्यले भनेका छन्, ‘यो त कार्यकारी शक्तिको अधिक दुरूपयोग (excessive abuse) र स्वेच्छाचारी (arbitrary) काम भयो। सशस्त्र द्वन्द्व एउटा सभ्य समाज र कानूनी राज्यमा कहिल्यै दिवस हुन सक्दैन । अब द्वन्द्व पीडितले न्याय पाउँछन् भन्ने पनि केही रहेन । यतिबेला सत्ता गठबन्धनका अरू घटकहरू कहाँ छन्, त्यो जान्न मन लाग्यो ! एउटा नेपालीले अर्को नेपाली विरूद्ध गरेको लडाइँलाई दिवस मानी सार्वजनिक विदा दिने यो सरकारले हामीलाई एकतामा बाँध्ने दशैं तिहार जस्ता महान चाडको विदा कटौती गर्न सक्छ, आजैबाट चनाखो बनौं ।’
त्यस्तै नेकपा एमालेका सचिव योगेश भट्टराईले पनि विदा दिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । उनले भनेका छन्, ‘२००७ सालदेखिका सबै क्रान्ति, आन्दोलन तथा विद्रोहको समस्टी र उच्चतम सफलता तथा गौरब स्वरुप गणतन्त्र र संविधान दिवस मानिंदै आएको छ । अरु सबै यसकै अधिनस्थ हुन् । फेरि अलग अलग विदा किन ? मुलुकलाई अनावश्यक बैचारिक ध्रुवीकरणमा नफसाऔं ।’
वरिष्ठ पत्रकार कनकमणि दिक्षितले द्वन्द्वपीडितको आँसु नपुछि सरकारले जनयुद्ध दिवस मनाउन लागेको भन्दै आपत्ति जनाएका छन् । उनले भनेका छन्, ‘लाचार नालायकी – द्वन्द्वको घाउ आलै छ, संक्रमणकालीन न्याय अड्केको छ, द्वन्द्वपीडितको आँस पुछिएको छैन। ’जनयुद्ध’ शब्द प्रयोगमा धेरैको बिमति छँदैछ, तर एमाले–माओवादी–राप्रपा सरकारले ’जनयुद्ध दिवस’ रे ! तिमीहरु मनाऊ।’