काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपालको औपचारिक भ्रमणमा रहेका भारतका विदेश सचिव विनयमोहन क्वात्राले भेट गरेका छन् ।
देउवा निवास धुम्रबाराहीमा सोमबार भएको भेटवार्तामा द्विपक्षीय पारस्परिक हितका विभिन्न विषय र दुई देशका जनताबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।
भेटमा सभापति देउवाले हाम्रो साझा लक्ष्य दुई देशका जनताको हितमा नेपाल–भारत सम्बन्धलाई अझ प्रगाढ बनाउनु भएको बताएका थिए । विदेश सचिव क्वात्रा परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि सोमबार काठमाडौं आइपुगेका हुन् ।
यसअघि उनले आजै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टछुट्टै शिष्टाचार भेटवार्ता गरेका थिए । आजै उनले परराष्ट्रमन्त्री डा विमला राई पौड्यालसँग शिष्टाचार भेटवार्ता गर्नाका साथै सचिवस्तरीय बैठकमा सहभागी भएका थिए ।विदेश सचिवको कार्यभार सम्हालेपछिको यो उनको पहिलो नेपाल भ्रमण हो ।
दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकताअनुरुप यो भ्रमण भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।