
काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीको इसारामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चलाउने प्रयास भइरहेको बताएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा पौडेलले ओलीले सुपरप्रधानमन्त्री ठानेको बताएका हुन् । उनले ओली सरकारले गरेको संसद विघटन कायरता भएको उल्लेख गर्दै ओलीले कायरतालाई छोप्न बहादुरी प्रदर्शन गर्ने कोसिस गरिएको बताए । सांसद पौडेलले वर्तमान गठबन्धनको सरकारलाई बालकोटमा हतारहतारमा प्रसाद थाप्न बनेको गठबन्धनको रुपमा चित्रित गरे ।
उनले अहिले नेकपा एमालेलाई राष्ट्रपति नभइ रबर स्ट्याम्प राष्ट्रपति, आफ्नै घरमा लालमोहर ल्याएर राखिदिने राष्ट्रपति र आवश्यक परे सचिव पनि लुकाइदिने राष्ट्रपति चाहिएको आरोप लगाए । पौडेलले संविधानको रक्षाका गर्ने व्यक्तिलाई राष्ट्रपति बनाउन कांग्रेसले चाहेको बताए ।