ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकास्थित भँडारे खोलामा जिप दुर्घटना हुँदा आमाछोरासहित तीन जनाको मृत्यु भएको छ ।
ना १ ज ६४२१ नम्बरको सुमो खोटाङको कोपिलासगढी गाउँपालिकाबाट उपचारका लागि बिरामी लिएर काठमाडौं जाँदै गर्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।
दुर्घटनामा ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पूजन गुरुङ र ४५ वर्षीया तारा गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक कार्कीले बताए । बिहान साढे ६ बजेतिर सुमो दुर्घटना भएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । दुर्घटनापछि चालक फरार रहेको प्रहरीले जनाएको छ ।