
धनुषा । पूर्वराष्ट्रपति डा रामवरण यादवले प्रकृतिको दोहनका कारण मानव जीवन नै सङ्कटमा पर्न थालेकामा दुःख व्यक्त गरेका छन् ।
सोमबार जनकपुरधाममा ‘म बनाउँछु नेपाल’ भन्ने बहस कार्यक्रममा उनले पहाडमा चलेको अनियन्त्रित डोजर तथा तराईको चुरे क्षेत्रमा भइरहेको अवैध उत्खननका कारणले मुलुकको अन्न तथा जलको भण्डार भएको तराई मधेसमा बर्सेनि पानीको सङ्कट बढ्न थालेकोप्रति चिन्ता व्यक्त गरे ।
पूर्वराष्ट्रपति यादवले भने, “यस्तै अवस्था रहेको खण्डमा अबको केही दशकपछि नेपालमा थप पानीको अभाव हुनेछ, खाद्यान्नको सङ्कट हुने खतरा छ ।” चुरेको अनियन्त्रित दोहन रोकेर चुरेलाई हराभरा बनाउनेतर्फ सबैको ध्यान जान जरूरी रहेको उनको भनाइ छ ।
पूर्व राष्ट्रपति यादवले पहाडमा चलेको अनियन्त्रित डोजर र तराईमा अवैध रूपमा बढेको क्रसर उद्योगका कारणले प्राकृतिक विनाश दिन प्रतिदिन बढ्दै गएकोमा चिन्ता व्यक्त गरे ।