
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल घेरामा हुने विभिन्न खालका अपराधहरु बढ्दै गइरहेको बताएका छन् ।
डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मानवीय सुखका लागि आजको टेक्नोलोजीलाई सदुपयोग मात्र नभइ दुरुपयोग भइरहेको बताएका हुन् । उनले मानव जातिले आफ्नो उन्नति, भलाइ र सुखका लागि प्रयोग गर्नुपर्ने बताए ।
उनले भने, ‘लगभग ७५ वर्षको कम्प्युटर इतिहाससँगै एआइको जमनामा आइपुगेका छौं । डिजिटल संसारमा आइपुगेका छौं । यसलाई मानव जातिले आफ्नो उन्नति, भलाइ, सुखका लागि प्रयोग गर्नु पर्दथ्यो । त्यो गरिएको पनि छ । मानवीय सुखका लागि आजको टेक्नोलोजिलाई प्रयोग गरेका छौं । तर यो सदुपयोग मात्र भइरहेको छैन ।’
प्रधानमन्त्रीले प्रविधिको दुरुपयोग गरेर मानिसहरुले त्यसबाट अनुचित लाभ लिन खोजिरहेको बताए ।