काठमाडौँ । समाजवादी मोर्चाले गणतन्त्रलाई उल्ट्याउन राजावादीहरूले ठूलो प्रतिगामी षड्यन्त्र गरेको निष्कर्ष निकालेको छ ।
मंगलबार बसेको मोर्चाको बैठकले राजावादीको प्रदर्शन प्रतिगामी षड्यन्त्र भएको निष्कर्ष निकालेको हो । बैठकले गत आइतबारको राजावादीको जुलुसलाई ठूलो घटना घटाउने कुचेष्टा भएको ठहर गरेको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।
उनले भने, ‘२०६५ सालमा नेपाली जनताले हटाइसकेको र तिरस्कार गरिसकेको राजतन्त्रलाई फेरि पुनस्र्थापित गर्ने जुन हर्कत चलिराखेका छन् । यसलाई हामीले ठूलो प्रतिगामी षड्यन्त्र भएको निष्कर्ष निकालेका छौँ ।’
त्यस्तै मोर्चाले देशलाई प्रतिगमनतर्फ लैजाने षड्यन्त्रलाई प्रतिकार गर्न चैत १५ गते काठमाडौंमा विरोध प्रदर्शनसहितको सभा गर्ने निर्णय गरेको छ । बैठकले त्यसअघि चैत्र १ गते बुद्धिजीवीसँग अन्तरक्रिया गर्ने र त्यही दिन पत्रकार सम्मेलन गर्ने निर्णय गरिएको विश्वकर्माले बताए ।