
झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीलाई प्रधानमन्त्री, मन्त्री बनाउनु भन्दा पशुपतिका बाँदरलाई मन्त्री बनाउनु राम्रो भएको टिप्पणी गरेका छन् ।
शनिबार झापामा नेकपा एमालेको जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले राजावादीहरुले चैत १५ गते काठमाडौंमा घटाएको घटनालाई लक्षित यस्तो टिप्पणी गरेका हुन् । प्रधानमन्त्रीले राजा फर्काएपछि के हुने भन्ने कुरा तिनकुने घटनाले देखाएको बताए ।
उनले भने, ‘राजा फर्काउने अरे । राजा फर्काएपछि ती प्रधानमन्त्री, मन्त्री बन्ने अरे । तिनीहरुलाई भन्दा त पशुपतिका बाँदरलाई मन्त्री बनायो भने अलिकति राम्रो हुन्छ।’
प्रधानमन्त्रीले व्यक्तिका घर, पसल व्यवसाय लुटेर क्रान्ति नहुने बताए । उनले तोडफोड, आगजनी जस्ता कुरा अब स्वीकार्य नहुने समेत चेतावनी दिए।
उनले भने, ‘तोडफोड, आगजनी, हिंसा, हत्या जस्ता कुराहरु अब स्वीकार्य हुँदैन। देशलाई संविधान र कानुन बमोजिम अगाडि बढाइन्छ।’
प्रधानमन्त्रीले देशमा युवा निराश हुनुपर्ने अवस्था नरहेको बताए । उनले सरकारले नयाँ वातावरण निर्माण गरेर युवालाई स्वरोजगार बनाउने बताए । प्रधानमन्त्रीले यस्तो देशमा किन बस्ने भनेर दुष्प्रोत्साहित गर्ने तत्व सक्रिय रहेको बताए ।