काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले संस्थापक नेता रेशम चौधरीको पक्राउबारे गृहमन्त्रीले संसदमा जवाफ नदिए सरकारलाई दिएको समर्थन फिर्ताको चेतावनी दिएको छ ।
सोमबारको प्रतिनिधिसभा बैठकमा नागरिक उन्मुक्ति पार्टीका सचेतक लालवीर चौधरीले रेशम पक्राउबारे गृहमन्त्रीले संसदमा जवाफ नदिए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका हुन् । उनले रेशमलाई अपहरण शैलीमा पक्राउ गरिएको भन्दै आपत्ति जनाए ।
उनले भने, ‘जनमत पार्टीसँग एकता हुनै लाग्दा पूर्व माननीय रेशम चौधरीलाई अपहरण शैलीमा डिल्लीबजार पुर्याइयो । रेशम पक्राउबारे गृहमन्त्रीले संसदमा जवाफ नदिए सरकारलाई दिएको समर्थन फिर्ता गर्छौं ।’
सर्वोच्च अदालतका कर्मचारीले लेखेको फर्जी पत्रका कारण गत वैशाख १७ गते रेशम चौधरी पक्राउ पछि केही घण्टा डिल्लीबजार कारागारमा राखिएका थिए ।
बैठकमा लोसपाका अध्यक्ष महन्थ ठाकुरले पनि रेशममाथि राज्यले अत्याचार गरेको आरोप लगाए । जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता गर्ने तय भएको दिन कार्यक्रमस्थल प्रज्ञा भवनबाटै रेशमलाई पक्राउ गरिएको थियो । त्यसपछि पार्टी एकता प्रक्रिया स्थगित भएको थियो ।