
काठमाडौं । राजसंस्था पुनस्र्थपानका लागि गठित संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेदेखि अनिश्चितकालिन आन्दोलनको घोषणा गरेको छ ।
बिहीबार पत्रकार सम्मेलन गरी नवराज सुवेदी नेतृत्वको समितिले आन्दोलन घोषणा गरेको हो । समितिले परिवर्तनकारी र परम्परागत शक्तिबीच समाञ्जस्यता कायम गर्दै राजसंस्था अटाउने गरि नयाँ समझदारी, सर्वधर्म समभावसहितको पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दू राष्ट्र र बलियो स्थानीय सरकारको मागसहित आन्दोलनको घोषणा गरेको हो ।
आन्दोलन घोषणा गर्दै सुवेदीले भद्र अवज्ञा र सत्याग्रहसहितको आन्दोलन हुने बताए । उनले राजा र जनताबीच षड्यन्त्रपूर्वक टुटाइएको धागोलाई फेरि जोड्नेगरी आन्दोलन गरिने बताए ।
समितिको आन्दोलन सरकारविरूद्ध नरहेको विज्ञप्तिमार्फत जनाइएको छ । जनतामा निहीत सार्वभौमसत्ता र जनताको निर्णायकत्वलाई थप सुदृढ गर्नु आन्दोलनको मुख्य उद्देश्य रहेको समेत समितिले उल्लेख गरेको छ ।
परिवर्तनकारी शक्तिहरूले चाहेको खण्डमा संविधानको परिधिभित्रैबाट आफूहरूको माग सम्बोधन गर्न सकिनेसमेत सुवेदीले बताए । आन्दोलनमा राप्रपा, राप्रपा नेपालसहितका राजनीतिक दल र विभिन्न समूहहरूले समेत ऐक्यवद्धता जनाएका छन् ।