
बीबीसी । अमेरिकाले भारत र पाकिस्तानलाई एक–अर्कामाथिको आक्रमण रोक्न आग्रह गरेको छ । युद्धले कुनै पनि समाधान नदिने भन्दै अमेरिकाले दुई देशलाई यस्तो आग्रह गरेको हो ।
यसअघि अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले आफूहरू भारत र पाकिस्तान कसैको पक्षमा पनि नलाग्ने बताएका थिए ।
अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता टेमी ब्रुसले प्रेस ब्रिफिङका क्रममा युद्ध रोकिनुपर्ने बताइन् । उनले पुस्तौँदेखि जारी समस्या समाधानका लागि कूटनीतिक रूपमा प्रयास गरिनुपर्ने बताइन् ।
उनले अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भारतीय विदेशमन्त्री एस जयशंकर र पाकिस्तानी प्रधानमन्त्री शहबाज सरीफसँग टेलिफोन कुराकानी गरेको बताइन् । त्यसक्रममा रुबियोले दुवै देशसँग युद्ध रोकेर वार्तामा जोड दिन आग्रह गरेका ब्रुसले बताइन् ।