
ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आतङ्कवाद, अराजकता र निरङ्कुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु भएका बताएका छन् ।
नेपाल प्रेस युनियन केन्द्रीय समितिद्वारा लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटको शनिबार ललितपुरमा उद्घाटन गर्दै उनले लोकतन्त्र र प्रेस स्वतन्त्रतालाई बलियो बनाउन कार्यशैलीमा सुधार गर्नुपर्नेमा जोड दिए ।
‘लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु परिवर्तनका विषयमा भएको समिट महत्त्वपूर्ण छ, लोकतन्त्रमा चुनौती थपिएको देख्छु, लोकतान्त्रिक शासनमा जनताको अभिमत बलियो हुनुपर्छ, लोकतन्त्र कमजोर हुँदा प्रेस स्वतन्त्रता कमजोर हुन्छ’, उनले भने ।
लोकतन्त्र र प्रेस स्वतन्त्रताबीच अन्तर सम्बन्ध रहेको चर्चा गर्दै मन्त्री गुरुङले प्रेस स्वतन्त्रताबाट समाज कसरी लाभान्वित हुन्छ भन्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।
उनले भने, ‘अनलाइनबाट गलत सूचना सम्प्रेषण भइरहेको छ, यसलाई नियन्त्रण गर्न चुनौतीपूर्ण छ । धार्मिक सहिष्णुता, सांस्कृतिक विविधतामाथि सामाजिक सञ्जालबाट गलत सूचना प्रवाह गरेर लोकतन्त्रलाई कमजोर पार्नेहरुविरुद्ध सम्पूर्ण सञ्चारजगत् एकजुट हुनुपर्छ ।’
सञ्चार तथा सूचना प्रविधिमन्त्री उनले जलवायु परिवर्तनको असर रोक्न एकीकृत ढङ्गले काम गर्नुपर्ने बताउँदै भने, ‘हामीले काम गर्दा कुनै नेता वा पार्टी विशेषको स्वार्थमा परेर काम गर्नु हुँदैन, हामीले जनताका आवश्यकताका आधारमा विकास– निर्माणका काम गर्नुपर्छ । यसले लोकतन्त्रलाई सुदृढ बनाउँछ ।’
मन्त्री गुरुङले विधिको शासन स्थापना र निष्पक्ष पत्रकारितामा जोड दिँदै मिडिया काउन्सिल विधेयकमा स्वनियमनको दायरामा अनलाइन मिडियालाई ल्याउनेगरी प्रबन्ध भइरहेको जानकारी दिए ।
‘प्रेस भन्नेबित्तिकै छापामाध्यमलाई बढी बुझ्ने गरिन्छ, अनलाइन माध्यम पनि प्रेस नै हो, अनलाइन माध्यमबाट समस्या भएको छ’, गत महिना २० करोडभन्दा बढी ठगी भएको दृष्टान्त प्रस्तुत गर्दै उनले सामाजिक सञ्जाललाई नियमन गर्न जरुरी भएको बताए ।
अन्तर्राष्ट्रिय पत्रकार महासङ्घका उपाध्यक्ष सविना इन्द्रजितले प्रेस स्वतन्त्रताविना लोकतन्त्र सुदृढ नहुने बताइन् । उनले १५० भन्दाबढी राष्ट्रमा महासङ्घको उपस्थिति रहेको जानकारी दिँदै महासङ्घले प्रेस स्वतन्त्रताका पक्षमा काम गर्दै आएको बताइन् ।
नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष दीपक आचार्यले जलवायु सङ्कट विश्वको समस्या बनेको बताउँदै प्रेस स्वतन्त्रत र जलवायु परिवर्तनसम्बन्धी विषयलाई अगाडि बढाउनुपर्ने विचार व्यक्त गरे ।
यहाँको सम्मेलन सकेर उपस्थित १२० जना पत्रकार लोमान्थाङ प्रस्थान गरेका छन् । लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु परिवर्तनमा केन्द्रित रहेर नेपाल प्रेस युनियनले सम्मेलन आयोजना गरेको हो ।