
बीबीसी । भारतले आफ्ना हवाई अड्डालाई निशाना गराउने क्रममा पाकिस्तानले तीव्र गतिको क्षेप्यास्त्र प्रयोग गरे तापनि भारतले त्यसलाई निष्क्रिय पारिदिएको बताएको छ ।
शनिबार पत्रकार सम्मेलनमार्फत भारतीय सेनाले यस्तो बताएको हो । भारतीय सेनाले सामाजिक सञ्जालमा पाकिस्तानले उक्साहटपूर्ण हमला बढाएको भन्दै त्यसमा आफ्ना पश्चिमी सीमामा सर्वसाधारणहरूलाई खतरामा पार्ने गरी व्यापक ड्रोन प्रहार गरेको बताएको छ ।
तिनै प्रयासमध्ये एकमा भारतको पञ्जाब राज्यको अमृतसर सहरको खासा क्यान्टोनमेन्टमाथि शत्रुपक्षका कैयौँ सशस्त्र ड्रोनहरू उडिरहेको देखिएको भारतीय सेनाले जनाएको छ ।
‘हाम्रा हवाई प्रतिरक्षा एकाइहरूले शत्रुका ती ड्रोनहरूलाई तुरुन्तै हमला गरे र नष्ट गरे,’सेनाले एक्समा जारी गरेको एक विज्ञप्तिमा भनेको छ।’
भारतको सार्वभौमसत्ता उल्लङ्घन गर्ने र नागरिकहरूलाई खतरामा पार्ने पाकिस्तानको स्पष्ट प्रयास अस्वीकार्य भएको सेनाले बताएको छ । शनिबार बिहानैदेखि भारत र पाकिस्तानबीचको एलओसी भनिने नियन्त्रित सीमा क्षेत्रमा धेरै तर्फबाट विस्फोटन भएका विवरणहरू आइरहेका छन् ।