काठमाडौं । आन्दोलनरत यातायात व्यवसायीहरूले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । गण्डकी प्रदेश सरकारले राइड शेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन तथा नियमन गर्ने नियमावली एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेपछि व्यवसायीले आन्दोलन फिर्ता लिएका हुन् ।
गण्डकी प्रदेश सरकारको निर्णय प्राप्त भएसँगै मंगलबार साँझदेखि आन्दोलन फिर्ता लिएको यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।
यातायात व्यवसायीसँग भएको सहमति अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नियमावली स्थगित गर्न प्रदेश सरकारलाई मंगलबार नै पत्राचार गरेको थियो ।
संघीय सरकारको पत्राचारपछि गण्डकीले एक महिनाका लागि नियमावली स्थगित गर्ने निर्णय गरेको छ । गण्डकी प्रदेश सरकारले राइड शेयरिङ एपको बारेमा ल्याएको नियमावलीको विरोध गर्दै यातायात व्यवसायीले आन्दोलन गर्दै आएका थिए ।