काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे संसदमा जानकारी गराएका छन् । शनिबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो ६ दिने स्पेन भ्रमणबारे संसदमा जानकारी गराएका हुन् ।
भ्रमणका क्रममा राष्ट्रिय हित र मर्यादालाई माथि उठाउने गरी प्रस्तुत हुने प्रधानमन्त्रीको भनाइ छ । आज साँझ ६ बजे कत्तार एयरवेजको जहाजबाट दोहा हुँदै प्रधानमन्त्री स्पेनको राजधानी म्याड्रिड प्रस्थान गर्ने छन् ।
भ्रमणका अवसरमा प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्नेछन् । प्रधानमन्त्री ओलीले स्पेनका राजा फिलिप द्वितीयसँग शिष्टाचार भेट र स्पेनका समकक्षी सान्चेजसँग भेटवार्ता गर्नेछन् भने विश्वका अन्य मुलुकका नेताहरूसँग ‘साइडलाइन’ भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपालबाट हुन लागेको यो उच्चस्तरको भ्रमणले नेपालमा विकसित मुलुकबाट हुने लगानी वृद्धिका साथै स्पेनलगायत युरोपली मुलुकका पर्यटक आकर्षणमा योगदान दिने विश्वास गरिएको छ ।
कूल २१ सदस्यीय भ्रमण दलमा प्रथम महिला राधिका शाक्य प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुुमार श्रेष्ठ, प्रधानमन्त्रीका प्रमुुख स्वकीय सचिव राजेश बज्राचार्य, प्रधानमन्त्रीका निजी चिकित्सक डा स्मृति शाक्य, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल, अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मा, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल कुमारराज खरेललगायत सहभागी हुनेछन् । काठमाडौँबाट २१, स्पेन र न्युयोर्कबाट आठ गरी २९ जना नेपाली प्रतिनिधिमण्डल हुनेछ ।
भ्रमण दलमा स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल, संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका स्थायी प्रतिनिधि लोकबहादुर थापालगायत सहभागी हुनेछन् । प्रधानमन्त्री यही असार २० गते शुक्रबार अपरान्ह ४ः४५ बजे स्वदेश फर्कने तालिका छ ।