काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी केन्द्रीय सदस्य मोहन बस्नेतले लगाएको आरोपको खण्डन गरेका छन् ।
बुधबारको केन्द्रीय समिति बैठकमा बस्नेतले महामन्त्री थापाका कारण आफूलाई अख्तियारले मुद्दा चलाएको आरोप लगाएका थिए । बस्नेतपछि बोलेका महामन्त्री थापाले बस्नेतले आफूमाथि अराजनीतिक र अमर्यादित आरोप लगाएको भन्दै आपत्ति जनाएका हुन् ।
उनले भने, ‘फोहोर चलाएर म फोहोरी बन्न चाहन्नँ । बाले भन्नुहुन्थ्यो– कसैले आरोप लगाए जवाफ दिइहाल्नुपर्छ । आमाले भन्नुहुन्थ्यो– फोहोर नचलाउनु, फोहोर चलाए आफैं फोहोरी भइन्छ। आज म आमाको कुरा सुन्छु ।’
महामन्त्री थापा तरुण दलको अनशनरत नेता कार्यकर्ताको माग सम्बोधन गर्न वार्तामा गएका बेला नेता बस्नेतले बैठकमा बोलेका थिए ।
बस्नेतले भनेका थिए, ‘महामन्त्री गगन थापा टेरामक्स प्रकरणमा मविरुद्ध खुलेरै लाग्नुभयो । तपाईंकै कारणले मेराविरुद्ध अख्तियारले छानबिन गर्यो । मलाई मात्रै होइन सबैलाई समाउनुहोस् । महामन्त्रीजीका बारेमा मसँग ठूलो फाइल छ, अहिले म धेरै भन्न चाहन्न ।’