भारतमा कोरोना संक्रमणले दिनदिनै नयँ रेकर्ड बनाउँदै गएको छ । पछिल्लो २४ घण्टामा ४ लाख १४ हजार ४३३ जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमित हुनेको यो संख्या अहिलेसम्मको सबैभन्दा धेरै हो ।
यसअघि बिहीबार ४ लाख १२ हजार ६१८ जनामा संक्रमण पुष्टि भएको थियो । १८ वैशाखमा भारतमा पहिलो पटक संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो । भारतमा कुल संक्रमितको संख्या २ करोड १४ लाख ८५ हजार २८५ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा ३९ सय २० संक्रमितको मृत्यु भएको छ । दोस्रो लहरको संक्रमण बढ्दै जाँदा भारतमा मृतकको संख्या पनि दिनदिनै बढ्दो क्रममा छ । भारतमा कुल मृतक संख्या २ लाख ३४ हजार ७१ पुगेको छ ।
हालसम्म भारतमा १ करोड ७५ लाख ९७ हजार ४१० जना संक्रमणमुक्त भएका छन् भने सक्रिय संक्रमितको संख्या ३६ लाख ५३ हजार ८०४ रहेको छ ।