पार्टी स्थापना दिवसमा मदन भण्डारीको सम्झना !

Spread the love

डा. विजय पौडेल ।

अहिले मलाइ दिक्क लागेको अवस्था छ । यस्तो बेलामा यसो हाँस्ने कुनै कुरा संझन मन लाग्यो । अनि संझनामा आयो मदन भण्डारीले सुनाउनु भएको हँस्यौली ।
सन् १९८० को कुनै दिन थियो बनारस बसाईको । म आई.ए.को परीक्षाको तयारी गरिरहेको थिएँ । कमरेड झलनाथ खनाल त्यतिखेर प्रवासको पार्टी काम हेर्नेगरी बनारसमा हुनुहुन्थ्यो । म, धादिङका नारायण अर्याल र झलनाथ खनाल बनारसको ठठेरी गल्लीको एउटा कोठामा बस्थ्यौं । बर्ग संघर्षको कुनै अंक भर्खरै छापिएको थियो, कोठाभरी चाङ लगाएर राखिएको थियो । वर्ग संघर्षको नयाँ अंक देशभित्र लैजानका लागि मदन भण्डारी लगायत अरु केही नेता बनारस पुग्नु भएको थियो । अरु नेताहरुको नाम संझना छैन अहिले । मदन भण्डारीसंग एक प्रकारको पारिवारिक सम्बन्धजस्तो थियो (बाले मदनलाई असाध्य स्नेह गर्नु हुन्थ्यो र वहाँले पनि त्यत्तिकै मात्रामा सम्मान गर्नु हुन्थ्यो) यसैले संझना छ ।
एक दिन छ जना जति भेला भएर बोरामा वर्ग संघर्ष पोको पार्दै सिलाउँदै गर्दा मदन भण्डारीले तल लेखिएको हँस्यौली सुनाउनु भएको थियो –
“मान्छेका बुद्धि चार प्रकारका हुन्छन्–

(१) तेल बुद्धि– तेलमा सियो चोप्यो भने तेलमा कुनै निसाना बाँकी रहन्न । तेलमा सियो पसाल्न पनि ज्यादै सजिलो हुन्छ । यस्ता मान्छेलाई कुनै कुरो बुझाउनु खोज्यो भने तुरुन्तै “बुझें बुझें” भन्छन् तर तिनको संझनामा केही रहन्न । वास्तवमा तिनले कुराको गहिराई नै बुझ्दैनन् ।

(२) बोरा बुद्धि– बोरामा सियो घोँच्न सजिलै हुन्छ । घोँचिएको सानो प्वालको अलिअली निसाना एकछिन रहन्छ अनि हराउँछ । यस्ता मानिसले बुझाएको कुरा एकछिन सम्म सम्झिन्छन्, केही बेरमा कुराको सार नै बिर्सन्छन् ।

(३) छाला बुद्धि– सुकेको छाला वा छालाको कम्मर पेटी सियोले प्वाल पार्न धेरै सकस हुन्छ तर एकपटक प्वाल पारेपछि त्यो जीवनभर मेटिन्न । यिनलाई कुरो बुझाउन धेरै कठिन हुन्छ तर एकपटक कुरो बुझाइसकेपछि जीवनभर त्यसलाई पालन गर्दछन् । यस्ता मानिसलाई परिवर्तित परिस्थिति बुझाउन भने धेरै कठिन हुन्छ ।

(४) लालटिन बुद्धि– यस्तो बुद्धिका मानिस लालटिन बत्तिजस्ता वा टर्चलाइटजस्ता हुन्छन् । एकपटक बालेपछि ननिभुन्जेल अरुलाई उज्यालो दिइरहन्छन् । टर्चलाइट वा लालटिन जसको हातमा परे पनि उज्यालो नै दिन्छन् । यस्ता मानिसहरुको पनि एउटा समस्या हुन्छ, यिनीहरुलाई जिस्क्याउन हुन्न । यस्तालाई जिस्क्यायो भने आगो लगाउँछन् ।” कोठामा भएका सबैजना धेरैबेरसम्म हाँसेका थिए ।

HT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्री ओलीलाई हटाउन बाबुरामका तीन प्रस्ताव

२०७७ बैशाख १०, बुधबार ०५:५८
Spread the loveकाठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लोकतन्त्रको रक्षाका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट हटाउन तीन वटा प्रस्ताव अघि सारेका छन् । बुधबार ट्वीट गर्दै भट्टराईले पहिलो उनकै पार्टीले हटाउनसक्ने, दोश्रो संसदले र तेश्रो सडक आन्दोलनले हटाउनुपर्ने बताएका हुन् । यसअघि मंगलबार पनि ट्वीट गर्दै भट्टराईले बर्तमान सरकार […]