प्रधानमन्त्री जसिन्डा आर्डर्नले न्यूजील्यान्डलाई कोभिड १९ बाट मुक्त भएको घोषणा गरेपछि खुसी प्रकट गर्न आफू नाचेको बताइन् । न्यूजील्यान्डले जुन ८ तारिखमा कोरोनाभाइस नियन्त्रणका लगाइएका सबै किसिमका प्रतिबन्धहरू हटाएको थियो । कोरोनाभाइरसबाट नयाँ मानिस सङ्क्रमित नभएको दुई हप्ताभन्दा बढी समयपछि प्रतिबन्धहरू फुकुवा गरेको हो ।
न्यूजील्यान्डले चार तहको सतर्कता प्रणाली कायम गर्दै पहिलो पटक मार्च २५ तारिखमा लकडाउन सुरु गरेको थियो । चौथो तहको सतर्कतामा गएपछि सबै व्यापार व्यवसाय र विद्यालयहरू बन्द गराई मानिसहरूलाई घरभित्रै बस्न भनिएको थियो । अहिले ५० दिनभन्दा कम समयमा महामारीको अन्त्य गराएपछि उनीहरू पहिलो तहमा फर्केका छन् र जनजीवन लगभग सामान्य भएको छ। तर विदेशीहरूका लागि अझै सीमा बन्द गरिएको छ ।
नयाँ नीतिमा सामाजिक दूरी अनिवार्य छैन र भेला हुने मानिसहरूको सङ्ख्यामा कुनै सीमितता छैन। आन्तरिक पर्यटनलाई बढाउने र अर्थतन्त्रलाई फेरि सामान्य अवस्थामा फर्काउने सरकारको लक्ष्य छ । लकडाउनबाट निस्किएको पहिलो ४८ घण्टामा न्यूजील्यान्डमा देखिएका कुरा यिनै हुन् । लामो लकडाउनपछि न्यूजील्यान्डको नर्थ आईल्यान्डमा पर्ने केम्ब्रिज नगरमा मानिसहरू समुद्री तटमा ’बिच भलिबल’ खेल्न भेला भए ।
सीमासम्बन्धी अझै कडा प्रतिबन्धहरू कायमै छन् र विदेशबाट फर्किने सबैले अनिवार्य रूपमा १४ दिन क्वारन्टीनमा बस्नुपर्छ । न्यूजील्यान्डका मानिसहरूलाई आफ्ना गतिविधि र यात्राबारे विवरण राख्न भनिएको छ। त्यसो गर्दा सङ्क्रमणको दोस्रो लहरमा मानिसहरूलाई ट्रेसिङ गर्न सहयोग पुग्ने अपेक्षा छ । प्रधानमन्त्री आर्डर्नले टौराङ्गास्थित ट्रेभेल्यानको किवी फ्रूट एन्ड आभकाडो प्याक हाउसमा काममा फर्किएका कर्मचारीहरूलाई भेटिन् ।
सर्तकता तह १ अन्तर्गत सबै प्रतिबन्धहरू हटाइएपछि जनजीवन लगभग सामान्यमा फर्किनेछ । न्यूजील्यान्डको एउटा ठूलो सहर ओक्लन्डमा निर्माण कामदारहरू काममा फर्किएका छन् । अनि ओक्लन्डस्थित फुलर फेरीमा केही सहकर्मीहरू कफी ब्रेकमा सँगै बसेर आनन्द लिए । फुटबल (रग्बी) नखेली तीन महिना बिताएका खेलाडीहरू सप्ताहान्तको प्रतिस्पर्धाका लागि प्रशिक्षणमा गएका छन् । अब त्यहाँ रङ्गशालाहरू फेरि खुल्नेछन् र दर्शकले प्रत्यक्ष खेलकुद हेर्न पाउनेछन् ।
शनिवार न्यूजील्यान्डका पाँचवटा सुपर रग्बी क्लबहरू सहभागी हुने द न्यू सुपर रग्बी ओटीआरोआ प्रतिस्पर्धा कोभिड १९ पछिको विश्वकै पहिलो महत्त्वपूर्ण खेलकुद प्रतिस्पर्धा हुनेछ । जुन ९ तारिखमा सार्वजनिक यातायात पुनः सञ्चालनमा आएपछि बिहान निस्किने मानिसहरू बस चढे । डुङ्गा सञ्चालनमा लगाइएको प्रतिबन्ध पनि हटाइएको छ र राजधानी वेलिङ्टनमा चल्ने ईस्ट वेस्ट फेरीबाट धेरै यात्रीले पुनः यात्रा गर्न पाए ।
घरबाहिर समय व्यतीत गर्ने अवसर फेरि आएको छ । न्यूजील्यान्डका मानिसहरू अहिले भेला हुन पाउँछन् र साथीहरूसँग समुद्रमा सर्फिङ गर्न जान पाउँछन् ।
बीबीसी नेपालीबाट