काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले मुलुकमा वैदेशिक हस्तक्षेप बढेको भन्दै प्रतिगमन र वैदेशिक हस्तक्षेप परास्त गर्न एकजुट हुन आग्रह गरेका छन् ।
बुधबार सामाजिक संजाल फेसबुकमार्फत प्रवक्ता श्रेष्ठले विदेशी शक्तिहरु कमजोर सत्ता र राजनीतिक अस्थिरताबाट कसरी आफ्नो स्वार्थ पुरा गर्न सकिन्छ भनेर सूक्ष्म व्यवस्थापनमा चासो दिदै क्रमशः हस्तक्षेप बढाइरहेका उल्लेख गरेका हुन् ।
उनले लेखेका छन्, ‘देश गम्भीर संकटबाट गुज्रदैछ । संविधान र लोकतन्त्रमाथि मात्र प्रहार भइरहेको छैन, पुनः वैदेशिक हस्तक्षेप बढ्दै गइरहेको छ । सत्तास्वार्थले अन्धा भएका निरङ्कुश तत्वहरुबाट विदेशी शक्तिलाई आमन्त्रण गर्ने र तिनको आडमा अघि बढ्ने प्रवृत्तिको पुनरावृत्ति भैरहेको छ । विदेशी शक्तिहरु कमजोर सत्ता र राजनीतिक अस्थिरताबाट कसरी आफ्नो स्वार्थ पुरा गर्न सकिन्छ भनेर सुक्ष्म व्यवस्थापनमा चासो दिदै क्रमशः हस्तक्षेप बढाइरहेका छन् । सम्पुर्ण देशभक्त शक्तिहरु एक होऔं । प्रतिगमन र वैदेशिक हस्तक्षेपलाई परास्त गरौं । राष्ट्रिय स्वाधीनता र लोकतन्त्रको रक्षा गरौं ।’
