
काठमाडौं । राष्ट्रिय जनमोर्चाले हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयलाई अधिनायकवादी तथा निरंकुश कदम भनेको छ । अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गरी ओली यो संसदलाई भंग गरेर देशलाई मध्यावधिमा धकेल्नका लागि जुनसुकै हतकण्डा अपनाउन तयार भएको बताएका हुन् । उनले ओलीको यो क्रियाकलापले देशको गणतन्त्र तथा राष्ट्रियता खतरामा परेको जिकिर गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री केपी शर्मा ओली ओली पुनःस्थापित संसदका समेत विरुद्ध रहँदै आएका छन् । पुनस्र्थापित संसद विरुद्धको मानसिकताका कारण नै सरकारले संसद अधिवेशन शुरु भएदेखि नै संसदलाई कुनै बिजिनेस (काम) नै नदिई पङ्गु बनाउने र संसदले उठाएका विषयमा कुनै सुनुवाई नै नगरी त्यसप्रति घोर उपेक्षाको नीति अपनाउँदै आएको थियो ।’
संसदमा सरकारका विषयमा उठेका सवालहरूको जवाफ दिनु सरकार प्रमुखको नाताले प्रधानमन्त्रीको दायित्व भएपनि त्यसको जवाफ नदिइ संसदको नियमित बैठकका लागि तोकिएको मितिमा बैठक बस्न नदिई हठात रुपमा संसद अधिवेशनको अन्त्य गरेको जनमोर्चाको आरोप छ ।