
छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । पछिल्ला केही दिनयता लगातार दैनिक २ लाख ८० हजारभन्दा बढीमा संक्रमण हुँदै आएको भारतमा पछिल्लो २४ घण्टामा तीन लाख भन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा भातमा तीन लाख १५ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । २४ घण्टामा संक्रमित हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो । यसअघि बुधबार २ लाख ९५ हजार भन्दा बढीमा संक्रमण भएको थियो भने सोमबार दोस्रो धेरै २ लाख ७५ हजार ३०६ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो बृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ५९ लाख २४ हजार ८०६ पुगेको छ ।
यस्तै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ८४ हजार ६७२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २ हजार १ सय २ जनाको मृत्यु भएको छ ।
भारतमा १ करोड ३४ लाख ४९ हजार ४०६ जना संक्रमणमुक्त भएका छन् । हाल भारतमा सक्रिय संक्रमितको संख्या २२ लाख ९० हजार ७२८ रहेको छ ।